काँग्रेसलाई गाेकुल बाँस्काेटाकाे प्रश्न : दिनभरी बीपी, रात परेपछि विप्लव ?
काठमाडौँ - सरकारका प्रवक्ता एवँ सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसलाई दिनभरी बीपी र रात परेपछि विप्लवको मन्त्र जपेको आरोप लगाएका छन् ।
मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गर्न बिहीबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता बाँस्कोटाले लोकतन्त्र र शान्ति प्रक्रियामाथि धावा बोलिएको कुरामा प्रतिपक्षले राखेको दृष्टिकोणप्रति आपत्ति जनाए ।
काँग्रेसले सत्ता गुमेको पीडामा लोकतन्त्रमाथि धावा बोलिएको कुरा बुझ्न नसकेको उनको आरोप थियो । सरकारले मृत्युको व्यापार नभई जीवनको निरन्तरता चाहेको उनले दाबी गरे । नेत्रविक्रम चन्द 'विप्लव'काे गतिविधि र हत्या, हिंसा, आतंककाे विषयमा नेपाली काँग्रेसकाे धारणा तथा नीति स्पष्ट हुनुपर्ने उनकाे जिकीर थियाे ।
प्रवक्ता बाँस्कोटाले काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मालाई इंगित गर्दै दश वर्षे शसस्त्र युद्धका समयमा काँग्रेसले बोलेको भाषा सम्झिन समेत आग्रह गरे । भोजपुरमा बुधबार प्रहरी र प्रतिबन्धित नेकपाका कार्यकर्ताबीच गोली हानाहान भएको घटनाका सम्बन्धमा काँग्रेस प्रवक्ता शर्माले गरेको टिप्पणीप्रति उनको कटाक्ष थियो ।
काँग्रेस प्रवक्ता शर्माले बुधबार ट्वीटरमार्फत् सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ले जनतालाई मृत्युको खबर बाँडिरहेको भन्दै टिप्पणी गरेका थिए । शर्माको टिप्पणीमा केन्द्रित हुँदै प्रवक्ता बाँस्कोटाले यो नै काँग्रेसको आधिकारिक धारणा हो भने त्यो दुःखद् हुने चेतावनी दिए ।
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले मच्चाएको हिंसालाई सरकारले नियन्त्रणमा लिन खोज्दा काँग्रेसले त्यसलाई अतिरञ्जित तवरमा व्याख्या गरेको उनको आरोप थियो ।
फेसबुक पेज Like गर्नुहोस