काठमाडौं - परराष्ट्रमन्त्री शिशिर खनालले नेपाली भूमि कुनै पनि छिमेकी मुलुकविरुद्ध प्रयोग हुन नदिने प्रतिबद्धता व्यक्त गरेका छन्।

शनिबार काठमाडौंमा फाउन्डेसन फर पिस डेभलपमेन्ट एन्ड सोसलिजमले आयोजना गरेको ‘काष्ठमण्डप डायलग’मा बोल्दै मन्त्री खनालले नेपाल ‘एक चीन’ सिद्धान्तप्रति दृढ रहेको स्पष्ट पारे ।

उनले विपद्का बेला चीन सरकारले तत्काल उपलब्ध गराएको आपत्कालीन तथा प्राविधिक सहयोगप्रति आभार व्यक्त गर्दै नेपाल–चीनबीच विपद् व्यवस्थापनमा सहकार्य थप विस्तार गर्नुपर्नेमा जोड दिए।

हिमताल विस्फोट तथा अन्य प्राकृतिक प्रकोपबाट हुने क्षति न्यूनीकरणका लागि रियल–टाइम स्याटेलाइट डेटा आदानप्रदान, संयुक्त मौसम पूर्वानुमान र पूर्वसूचना प्रणाली विकास गर्नुपर्ने उनको भनाइ थियो।

मन्त्री खनालले नेपाली चिया, कफी तथा जडीबुटीलाई चिनियाँ बजारमा सहज पहुँच दिलाउन नेपालमै अन्तर्राष्ट्रियस्तरको क्वारेन्टाइन तथा प्रमाणीकरण प्रयोगशाला स्थापना गर्न चिनियाँ प्राविधिक सहयोग आवश्यक रहेको बताए।