एक हप्तादेखि चलिरहेको स्थायी कमिटी बैठक आज सकिने
काठमाडौं - सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को एक हप्तादेखि चलिरहेको स्थायी कमिटी बैठक आज सकिदैँछ ।
शनिबार नै सक्ने तयारी गरे पनि प्रतिवेदन र विधान संशोधन प्रस्तावलाई निष्कर्षका रुपमा पारित गर्ने काम बाँकी रहेकोले बैठक लम्बिएको थियो ।
आइतबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बोलाइएको बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रतिवेदन तथा महासचिव विष्णु पौडेलको विधान संशोधन प्रस्ताव पारित गरिने बताइएको छ ।
राजनीतिक प्रतिवेदन र विधान संशोधन प्रस्ताव छलफलका आधारमा आज पारित गरिने प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।
यसैबीच हिजोको बैठकले केन्द्रीय समिति बैठक पुस २० गतेका लागि बोलाउने निर्णय गरेको छ । त्यस्तै नेता वामदेव गौतमलाई उपाध्यक्ष बनाउने प्रस्ताव समेत बैठकले अनुमोदन गरेको छ ।
फेसबुक पेज Like गर्नुहोस