भारतद्वारा अतिक्रमित नेपाली भूमि समेटेर नक्सा सार्वजनिक गर्न सरकारलाई निर्देशन
काठमाडौं - संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले लिम्पियाधुरालाई समावेश गरेर नेपालको नक्सा तत्काल सार्वजनिक गर्न सरकारलाई निर्देशन दिएको छ ।
शुक्रबार भएको छलफलपछि समितिले लिम्पियाधुरालाई समावेश गरी नेपालको नक्सा तत्काल सार्वजनिक गर्न निर्देशन दिएको हो । आजको छलफलमा गृहमन्त्री रामबहादुर थापा र भूमि व्यवस्थामन्त्री पद्मा अर्याल समेत सहभागी थिए ।
मन्त्री थापा र अर्यालसँगको छलफलपछि समितिले लिम्पियाधुरा, लिपुलेक, कालापानी, सुस्ता लगायतका नेपाली भूमि समावेश गरी नेपालको नक्सा अविलम्ब जारी गर्न निर्देशन दिएको हो ।
समितिले नेपाली भूमिको रक्षा तथा कालापानी क्षेत्रमा बसोबास गरिरहेका नेपालीहरुलाई सहज आवत जावत गर्ने बाटो र अन्य सुविधा उपलब्ध गराउन समेत भनेको छ ।
त्यस्तै भारतबाट अतिक्रमित भूमिमा नेपालको सार्वभौम अधिकार र स्वामित्व सुदृढ गर्न भारत सरकारसँग राजनीतिक, कूटनीतिक तहमा अविलम्ब वार्ता गरी समस्या समाधान गर्न सरकारलाई निर्देशन दिएको छ ।
समितिमा भएको छलफलमा मन्त्री अर्यालले नेपालको नक्सामा लिपुलेक, कालापानी समावेश भएको तर लिम्पियाधुरा क्षेत्र नभएको बताएकी थिइन् । त्यस्तै मन्त्री थापाले कालापानीमा नेपाली सुरक्षाकर्मी राख्ने तयारी भएको जानकारी दिएका थिए ।
फेसबुक पेज Like गर्नुहोस