काठमाडौं - अभियन्ता वेदिका केसी पक्राउ परेकी छिन् । सामाजिक सञ्जालबाट भ्रम फैलाउन लागिपरेको भन्दै उनलाई प्रहरीले पक्राउ गरेको हो ।

कथावाचिका राधिका दासीको उजुरीका आधारमा साइबर ब्युरोको प्रहरीले केसीलाई बिहीबार जोरपाटीबाट पक्राउ गरिएको हो । उनलाई अहिले साइबर ब्युरोको हिरासतमा राखिएको छ ।

आफूलाई धर्मभित्रको गलत प्रवृत्तिको भण्डाफोर गर्ने अभियन्ताका रूपमा चिनाउने वेदिका केसी पछिल्लो समय चर्चामा थिइन् । मुख्यतः धार्मिक माताका रूपमा चिनाउने व्यक्तिहरूका विरुद्धमा उनले सामाजिक सञ्जालमार्फत आफ्ना भनाइहरू राख्ने गरेकी थिइन् ।

धर्म, आस्था र परम्पराका गलत तथ्य वा विषयका सम्बन्धमा उनले बहस चलाउन थालेकी थिइन् । वेदिकाले सामाजिक सञ्जालमार्फत आफूले गलत ठानेका गतिविधि र कथितरुपमा ‘माता’ भनिएकाहरूको गतिविधिमाथि प्रश्न उठाउँदै भण्डाफोर अभियान सञ्चालन गरेकी थिइन् ।

धर्मका नाममा हुने विकृति र विसंगतिविरुद्ध आवाज उठाएको बताउने वेदिकाले अनास्था फैलाएको र व्यक्तिगत लाञ्छनामा उत्रिएको भन्दै कथावाचिका राधिका दासीले उजुरी दिएपछि वेदिका पक्राउ परेकी हुन् ।

झाँक्रीका श्रीमतीहरु बोक्सी हुने भन्दै सामाजिक सञ्जालमा भाइरल बनेकी केसीले राधिका दासीका बारेमा पनि विभिन्न टिकाटिप्पणी गरेकी थिइन् ।

सामाजिक सञ्जालमा लाइभमै बसेर माताहरुविरुद्ध बोल्दै आएकी उनले प्रकाश सुवेदी शो मा राधिका दासीले अघोषित श्रीमान राखेको, फाउण्डेसनमार्फत करोडौं ठगी गरेको, विभिन्न स्थानमा घर र सम्पत्ति जोडेको आरोप लगाएकी थिइन् । 

दासी अमेरिकामा भएका बेला प्रकाश सुवेदी शोमा पुगेर केसीले उनका बारेमा बोलेपछि दासीले पनि सोही कार्यक्रममार्फत नै प्रष्टोक्ति दिएकी थिइन् । अन्ततः दासीकै उजुरीका आधारमा उनी पक्राउ परेकी हुन् । 

केसीको कतिपय माता र भाइरल झाँक्री प्रकाश भुजेलसँग सामाजिक सञ्जालमा भनाभन भएको भिडियो समेत भाइरल भएका थिए । 

केसी विरुद्ध काठमाडौं जिल्ला अदालतबाट साइबर कसुरमा १ दिनको म्याद पनि थप भएको छ ।