काठमाडौं - प्रधानमन्त्री केपी ओलीको दोस्रो डाइलासिस बिहीबार दिउँसो सकिएको छ । प्रधानमन्त्री ओली उपचारका लागि काठमाडौंको ग्राण्डी अस्पतालमा भर्ना गरेर उपचाररत छन् । उनको दोस्रो डाइलासिस बिहीबार दिउँसो सकिएको अस्पताल स्रोतले जनाएको छ ।

लामो समयदेखि मृगौलाको उपचार गराइरहेका प्रधानमन्त्री ओलीको स्वास्थ्यमा समस्या देखिएपछि उनलाई बुधबार अस्पताल भर्ना गरिएको थियो । पहिलो डाइलासिस बुधबार नै सकिएको प्रधानमन्त्रीको दोस्रो डाइलासिस बिहीबार दिउँसो सकिएको हो ।

२०६४ सालमा मिर्गौला प्रत्यारोपण गरेपछि ओलीले सिंगापुरमा नियमित स्वास्थ्य परीक्षण गराउँदै आएका छन् । गत महिना उनको प्लाज्मा फेरेसिस गरिएको थियो ।

यसैबीच अस्पतालमा नेकपाका नेताहरु भेट्न पुगेका छन् । विहीबार बिहान उपप्रधानमन्त्री ईश्वर पोखरेल र प्रेस सल्लाहकार डा। कुन्दन अर्यालले भेटेका थिए भने नारायणकाजी श्रेष्ठ र भिम रावलले भेट्न पाएका थिएनन् । नेकपाका अर्का अध्यक्ष प्रचण्ड पनि भेटका लागि अस्पताल पुगेका छन् ।