काठमाडौं - सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आज बस्दैछ । समसामयिक राजनीतिक घटनाक्रमको समीक्षा तथा पार्टी संगठनको विषयमा छलफल गर्न बैठक बस्न लागेको हो ।

बैठक पार्टी केन्द्रीय कार्यालय धुम्बाहीमा दिउँसो १ बजे बस्ने तय भएको जनाइएको छ । गत सोमबार बसेको सचिवालय बैठकले मंसिर २९ र ३० गते स्थायी कमिटी बैठक डाक्ने निर्णय गरेको थियो ।

स्थायी कमिटी बैठकअघि मंसिर २७ गते पुनः सचिवालय बैठक बस्ने भनिए पनि बैठक बस्न सकेको थिएन । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पार्टीको राजनीतिक कार्यदिशा र भावी योजना सहितको राजनीतिक प्रतिवेदन लेख्नमा व्यस्त भएपछि शुक्रबार बस्ने भनेको सचिवालय बैठक बस्न नसकेको हो ।

शुक्रबार बस्न नसकेको सचिवालय बैठक यतिबेला प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली समेत सहभागि भएका छन् । यसअघिको दुई वटा सचिवालय बैठकमा स्वास्थ्यस्थितीका कारण उनी अनुपस्थित रहेका थिए । 

आज बस्ने स्थायी कमिटीको बैठकको अध्यक्षता अध्यक्ष प्रचण्डले गर्ने तयारी भइरहेको बताइएको छ । कार्यकारी अध्यक्षको परिभाषित जिम्मेवारी दिइएसँगै उनको अध्यक्षतामा पहिलोपटक स्थायी कमिटी बैठक बस्न लागेको हो । 

प्रचण्डले यसबीचमा सचिवालयका दुईवटा बैठकको अध्यक्षता गरेका छन् । नेकपा स्थायी कमिटी बैठक एक वर्षपछि बस्न लागेको हो । २०७५ मंसिर २९ यता सचिवालय बैठक बस्न सकेको छैन ।