बुटवल - जनता समाजवादी पार्टी (जसपा) नेपालकी लुम्बिनी प्रदेशसभा सदस्य अम्बिका काफ्ले पदमुक्त भएकी छन्।
प्रदेशसभा सचिवालयले बुधबार सूचना प्रकाशित गर्दै काफ्ले प्रदेशसभा सदस्यबाट पदमुक्त भएको जनाएको हो।
प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुनमगरका अनुसार जसपा नेपाल लुम्बिनी प्रदेशसभा संसदीय दलको निर्णय तथा सिफारिसका आधारमा पार्टी केन्द्रीय समितिले काफ्लेलाई प्रदेशसभा सदस्यबाट निष्कासन गर्ने निर्णय गरेको थियो।
संसदीय दलको ह्विप उल्लंघन गरेको आरोपमा काफ्लेमाथि कारबाही प्रक्रिया अघि बढाइएको सचिव पुनमगरले बताए।
उनका अनुसार प्रदेशसभा संसदीय दलबाट प्राप्त स्पष्टीकरण केन्द्रमा पठाइएको र केन्द्रीय समितिको निर्णयपछि पदमुक्तिको पत्र प्रदेशसभा सचिवालयमा आएको थियो।
प्रदेशसभा अधिवेशन चालु नरहेको अवस्थामा सभामुख तुलाराम घर्तीको निर्देशनअनुसार राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३५(२) तथा लुम्बिनी प्रदेशसभा नियमावली, २०७९ को नियम १९६ बमोजिम दल त्यागसम्बन्धी सूचना प्रकाशित गरिएको सचिव पुनमगरले जानकारी दिए।

.gif)


