काठमाडौं-अस्ट्रेलियामा जारी टप एण्ड टी–२० सिरिजमा नेपाल ‘ए’ले आज घरेलु टोली अस्ट्रेलियन क्यापिटल टेरिटोरी कमेट्ससँग प्रतिस्पर्धा गर्दैछ।

डार्विनस्थित मारारा क्रिकेट ग्राउन्डमा हुने खेल नेपाली समयअनुसार दिउँसो ३ः१५ बजे सुरु हुनेछ। प्रतियोगिताको समूह चरणअन्तर्गत नेपालले आज आफ्नो पाँचौँ खेल खेल्न लागेको हो।

नेपाल ‘ए’ आजको खेलमा लगातार दोस्रो जितको खोजीमा हुनेछ। प्रतियोगिताको सुरुआती दुई खेलमा पराजित भएको नेपालले हिजोको खेलमा होबार्ट हरिकेन्स एकेडेमीलाई ३९ रनले पराजित गर्दै प्रतियोगितामा पहिलो जित हात पारेको थियो। उक्त जितले नेपाली टोलीको मनोबल बढाएको छ।

होबार्टविरुद्ध नेपालले पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा १ सय ५४ रन बनाएको थियो। जवाफमा होबार्टको टोली १८ दशमलब ३ ओभरमा १ सय १५ रनमै अलआउट भएपछि नेपाल ३९ रनले विजयी भएको थियो।

अब कमेट्सविरुद्ध पनि सोही लयलाई निरन्तरता दिने लक्ष्यमा नेपाल ‘ए’ रहेको छ। ब्याटिङमा कुशल भुर्तेल, अनिल साह, कुशल मल्ललगायत खेलाडीबाट महत्वपूर्ण योगदानको अपेक्षा गरिएको छ भने बलिङतर्फ नेपाली टोलीले प्रभावशाली प्रदर्शनलाई निरन्तरता दिनुपर्नेछ।