काठमाडौं - विशेष अदालतले हिमालयन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोजलाल कर्णसँग २५ लाख रुपैयाँ धरौटी माग गरेको छ।
नेपाल पुनर्बीमा कम्पनी (नेपाल रिइन्स्योरेन्स)को सेयर कारोबारमा संलग्न रहेको आरोपमा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दायर भएपछि कर्ण मंगलबार विशेष अदालतमा उपस्थित भएका थिए।
बयानपछि विशेष अदालतका अध्यक्ष नारायणप्रसाद पौडेल तथा सदस्यद्वय डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले कर्णसँग २५ लाख रुपैयाँ धरौटी माग गरेको हो।
विवादास्पद व्यवसायी दीपक भट्टसहित कर्णविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएको थियो।
अभियोगपत्रमा कर्णसमेतले ७ अर्ब २२ करोड ४६ लाख ८५ हजार रुपैयाँ बराबरको कारोबार गरी गैरकानुनी सम्पत्ति आर्जन गरेको दाबी गरिएको छ।
सो रकमको स्रोत खुलाउने तथा कसुरजन्य सम्पत्तिको वास्तविक प्रकृति र स्वामित्व लुकाउने काम भएको पनि सरकारी पक्षको आरोप छ।
सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ अन्तर्गत सजाय तथा बिगो असुलउपरको माग दाबीसहित कर्णविरुद्ध दायर गरिएको आरोप पत्रमा कसुर भएको समयमा कम्पनीको कार्यकारी प्रमुख रहेकाले थप सजायको मागसमेत गरिएको छ।
तर, कर्णले अनुसन्धान अधिकारी र अदालतसमक्ष बयान दिँदै आफूमाथिको आरोप अस्वीकार गरेका छन्।

.gif)


