काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले गणतन्त्र र लोकतन्त्रलाई उल्टाउनका लागि प्रतिक्रियावादी शक्तिहरुले षड्यन्त्र गर्न थालेको आरोप लगाएका छन् ।

पार्टी मुख्यालय धुमवराहिमा सोमबार आयोजित २१ औँ सुरेश वाग्ले स्मृति कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले परिवर्तनलाई अपमानित गर्ने काम अमान्य हुने बताए ।

सिंहको अगाडि स्याल आएर हल्ला गरेकै भरमा सिंह र स्यालको तुलना हुन नसक्ने उनको भनाई थियो ।उनले निरंकुशतावादी र कुनै पनि नाममा प्रतिक्रियावादी शक्तिलाई यो देशलाई फेरि निरंकुशताको जाँतोमा पिस्न दिने कुरा आफूहरुलाई स्वीकार्य नहुनेबताए ।

आफूहरुको कमजोरी भए त्यसलाई सच्याउन तयार रहेको भन्दै संघीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउन सबैसँग आग्रह पनि गरे ।

उनले सुरेश वाग्ले कम्युनिष्ट वैचारिक अग्रज र इमान्दार भएको बताए । राजनीतिक कुशलताद्वारा सबैलाई प्रभावित पार्न सक्ने नेताको रुपमा वाग्ले रहेको भन्दै वैचारिक अन्तरसंघर्षलाई ठीक ढंगले परिचालन गर्न अग्रणी भूमिकामा खेलेको बताए ।