काठमाडौं - यातायात व्यवसायीले बिहीबारदेखि टाढा र रातको समयमा यात्रा नगर्न आह्वान गरेका छन् । 

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले एक विज्ञप्ति जारी गर्दै बिहीबारदेखि १२ असोजसम्म यातायात सेवा सञ्चालन गर्नुपूर्व बाटोको अवस्था र मौसमबारे अनिवार्य जानकारी लिन आह्वान गरेको छ ।

साथै महासंघले अत्यावश्यक नपरेसम्म टाढाको यात्रा नगर्न सबैलाई आग्रह गरेको छ । 

यसअघि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सरोकारवालालाई यस्तो अनुरोध गरिसकेको छ । सोही अनुसार यातायात सञ्चालन गर्न महासंघले आफ्नो सदस्यहरुलाई सचेत गराएको छ ।

यस साता अविरल वर्षा हुने र यसले सडकमा बाढी तथा पहिरोको जोखिम हुने भन्दै सरकारले सबैमा सचेत हुन आग्रह गरिसकेको छ ।