काठमाडौँ - भोटेकोशी बाढीका कारण जलविद्युत आयोजनामा कार्यरत ८ सयभन्दा बढी व्यक्ति सम्पर्कविहीन भएको सरकारले जनाएको छ।
बुधबारको प्रतिनिधिसभाको बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले माथिल्लो त्रिशूली- १, थ्री-ए, रसुवागढी लगायतका विभिन्न आयोजनामा ठूलो मानवीय र भौतिक क्षति भएको सदनलाई जानकारी गराए। विपद्मा परी नेपाल विद्युत प्राधिकरणका ४७ सहित ८ सयभन्दा बढी कर्मचारी र कामदार बेपत्ता रहेको उनले बताए।
भौतिक संरचनातर्फ राष्ट्रिय प्रसारण प्रणालीबाट ४१० मेगावाट विद्युत गुमेको छ। विपद्का कारण ऊर्जा क्षेत्रमा करिब ३ खर्ब ९० अर्ब रुपैयाँभन्दा बढीको क्षति भएको प्रारम्भिक विवरण मन्त्री श्रेष्ठले पेश गरे।
११ वटा जलविद्युत केन्द्र बन्द हुँदा ४१० मेगावाट विद्युत प्रणालीबाट बाहिरिएको छ भने ६ वटा निर्माणाधीन आयोजनामा पनि गम्भीर क्षति पुगेको छ। सब–स्टेसन र प्रसारण लाइनमा पुगेको क्षतिले राष्ट्रिय ग्रिडलाई समेत प्रभावित पारेको छ। सिँचाइ र नदी नियन्त्रण संरचनाको पुनःस्थापनाका लागि मात्रै थप करिब ५ अर्ब आवश्यक पर्ने मन्त्रालयको आँकलन छ।
संकटको यस घडीमा सरकारले पीडित परिवारलाई राहतको घोषणा गरेको छ। मन्त्री श्रेष्ठका अनुसार बेपत्ता भएका प्राधिकरणका कर्मचारीका आश्रित परिवारलाई तत्काल ५ लाख रुपैयाँ राहत र ६ महिनासम्म आधा तलब उपलब्ध गराइनेछ। साथै, बाढी प्रभावित ग्राहकका लागि न्यूनतम महशुल मिनाहा, निःशुल्क मिटर वितरण र विशेष सहुलियतको व्यवस्था गरिएको छ।



