काठमाडौं - सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले सातवटै प्रदेशमा स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान खोलिने बताएका छन् ।

प्रतिष्ठानले आज यहाँ आयोजना गरेको ‘दिगो विकासका लक्ष्यहरु कार्यान्वयनका लागि स्थानीय तहको क्षमता विकाससम्बन्धी दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन’को उद्घाटन गर्दै स्थानीय तहका कर्मचारी र जनप्रतिनिधिलाई सक्षम बनाउन प्रतिष्ठान खोल्न लागिएको जानकारी दिए ।

मन्त्री पण्डितले स्थानीय तहमा केही समस्या रहेको भन्दै त्यसको समाधान गर्नतिर सरकार लागेकोसमेत बताए । ‘अहिले स्थानीय तहले सोचेजस्तो काम गर्न सकेका छैनन् । हामीले पनि कानून बनाएर दिन ढिलो गर्‍यौँ’, उनले भने, ‘अब भने स्थानीय तहलाई संविधानले दिएको अधिकार प्रयोग गर्न दिएर बढी जिम्मेवार बनाउने छौं ।’ उनले संविधानमा भएको स्थानीय तहको एकल र साझा अधिकारको सूचीलाई बाँडफाँट गरी दिइने तयारीसमेत भइरहेको जानकारी दिए ।