काठमाडौं - भारतले अतिक्रमण गरेको नेपाली भूमी लिपुलेक नजिक आजबाट सशस्त्र प्रहरीको टोली खटाईने भएको छ ।

दार्चुलाको छाङरुमा सशस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा २५ जनाको टोली खटाउन लागिएको हो ।दार्चुलाकै सीतापुरमा रहेको सई नेतृत्वको नेपाल प्रहरीको टोलीलाई पनि छाङरूमा लगिँदै छ ।

छाङरू भारतले अतिक्रमण गरेको नेपाली भूमि लिपुलेकभन्दा करिब १२ किलोमिटर वर पर्दछ ।बन्दोबस्ती, खाद्यान्न र हातहतियारसहित उनीहरुलाई नेपाली सेनाको हेलिकोप्टरले छाङरूमा पुर्‍याउनेछ ।

त्यसका लागि आज बिहान गृहमन्त्रीका सुरक्षा सल्लाहकार इन्द्रजित राई, सशस्त्र प्रहरीका एआईजी नारायणबाबु थापासहितको टोली सेनाको हेलिकोप्टरमार्फत दार्चुला प्रस्थान गरेको छ ।

सो हेलिकोप्टर दार्चुलाबाट इन्सपेक्टरसहितको टोलीलाई लिएर आजै छाङरू पुग्ने छ । छाङरूसम्म पुग्ने सडक बाटो नभएकाले सेनाको हेलिकोप्टरबाट सशस्त्रको टोलीलाई लैजान लागिएको हो ।