कालंगा हाइड्रोकाे सुरुङ भत्किँदा चार मजदुर थुनिए
बझाङ - बझाङको बुंगल नगरपालिका–१ स्थित कालंगा हाइड्रोपावर लको काम गर्ने क्रममा सुरुङ भत्किँदा चारजना मजदुर थुनिएका छन् ।
आइतबार दिउँसो करिब ३ बजे उनीहरू सुरुङभित्र छिरेका थिए । सुरुमा सुरुङभित्र ६ जना छिरे पनि दुई मजदुर भने सास फेर्न कठिन भएको भन्दै तत्कालै निस्किएका थिए ।
तर, चारजना भने अहिलेसम्म सम्पर्कमा नआएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख, डिएसपी गणेशबहादुर बमले जानकारी दिए । काम गर्ने क्रममा सुरुङ भत्किएर चारै जना भित्र थुनिएको र उनीहरूको मृत्यु भएको हुन सक्ने आशंका प्रहरीले गरेको छ ।
सम्पर्कविहीन हुनेमा दैलेखका कर्णबहादुर शाही, महेन्द्रबहादुर शाही, अछामका महेन्द्र साउद र बझाङका शेरसिंह धामी रहेका छन् ।
घटनास्थलमा पुगेका नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासीले उद्धारको प्रयास गरिरहेका छन् । सुरुङ भत्किएकाले उद्धार गर्न कठिनाइ भएको र काठमाडौंबाट उद्धार टोलीलाई बोलाइएको डिएसपी बमले बताए ।
फेसबुक पेज Like गर्नुहोस