काठमाडौं - नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मोहम्मद आफताव आलम पक्राउको सम्बन्धमा शुक्रबार आफूले दिएको अभिव्यक्ति सच्याएका छन् ।

शनिबार एक विज्ञप्ति जारी गर्दै सभामुख देउवाले आलमको मुद्दामा पूर्वाग्रह र दबावमुक्त रहेर अनुसन्धान हुनुपर्ने बताए । साथै आलमको मुद्दामा पूर्वाग्रह र दबाबमुक्त रहेर अनुसन्धान गर्न कांग्रेसले सघाउने समेत उनले बताए ।

‘कानुनी राज्यमिा विश्वास गर्ने कांग्रेस कोहीमाथि पनि जरुरी अनुसन्धानको विपक्षमा उभिन सक्दैन’, देउवाले विज्ञप्तिमा भनेका छन् । गम्भीर मुद्दामा प्रक्रियागत ढिलासुस्ती हुँदा सत्य अन्वेषणमा बाधा पुग्ने भन्दै देउवाले त्यहि कुरालाई संकेत गरेको दाबी गरेका छन् ।

‘निर्दोष कोही दण्डित नहुने र दोषीलाई उन्मुक्ति नहुन नहुने हाम्रो प्रष्ट मान्यता म सार्वजनिक रुपले प्रष्ट्याउन चाहन्छु’, देउवाले भनेका छन् ।

शनिबार काँग्रेसको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको कार्यक्रममा आलमबारे आफ्नो अभिव्यक्ति विवादमा परेपछि देउवाले विज्ञप्तिमार्फत स्पष्टीकरण दिएका हुन् ।

२०६४ सालको संविधानसभा निर्वाचनमा बुथ कब्जा गर्न बनाउन लागिएको बम विस्फोट हुँदा घाइते भएकालाई जिउँदै इँटाभट्टामा हालेको आरोपमा सांसद मोहम्मद अफताब आलम पक्राउ परेपछि देउवाले त्यसलाई काँग्रेसविरुद्धको षडयन्त्रको रुपमा अर्थ्याएका थिए ।

पुरानो मुद्दालाई ब्युँताएर सरकारले नेपाली काँग्रेसविरुद्ध घेराबन्दी र षडयन्त्र गरेको उनको आरोप थियो । सोही कार्यक्रममा घटनाको बखत गृहमन्त्री समेत रहेका अर्का काँग्रेस नेता कृष्णप्रसाद सिटौलाले समेत आलमको पक्राउलाई काँग्रेसविरुद्धको ग्य्राण्ड डिजाइनका रुपमा व्याख्या गरेका थिए ।