काठमाडौं - नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहले १५ औँ महाधिवेशन मंसिरमा गर्ने प्रस्ताव गरेको छ।
बुधबार देउवा समूहको सम्पर्क कार्यालय चुनदेवीमा बसेको शीर्ष नेताको बैठकमा १५ औं महाधिवेशन मंसिर २१ देखि २३ गतेसम्म गर्ने प्रस्ताव गरिएको हो।
जसमा वडा अधिवेशन असोज १५ गते, पालिका अधिवेशन असोज २० गते, प्रदेश सभारप्रतिनिधि सभा क्षेत्रीय अधिवेशन असोज २३ गते गर्ने प्रस्ताव छ।
यस्तै जिल्ला अधिवेशन कात्तिक १५ गते, प्रदेश अधिवेशन मंसिर ४ गते र केन्द्रीय महाधिवेशन मंसिर २१ देखि २३ गतेसम्म गर्ने प्रस्तावमाथि देउवा पक्षमा छलफल भइरहेको छ।
सभापति गगनकुमार थापा नेतृत्वको कांग्रेसले आगामी असोज १६-१९ मा महाधिवेशनको मिति निर्धारण गरी आन्तरिक काम थालेका बेला देउवा पक्ष छुट्टै महाधिवेशनको दिशामा अगाडि बढेको हो।
गत पुसमा सम्पन्न विशेष महाधिवेशनपछि कांग्रेस दुई भागमा विभाजित छ। कांग्रेस आधिकारिकता विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्था दुवै पक्ष छुट्टाछुट्टै महाधिवेशन गर्ने गरि अगाडि बढेको देखिन्छ।
यसैबीच नेपाली कांग्रेसले पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आह्वान गरेको छ ।
बुधबार पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार बैठक भदौ २० गते शनिबार दिउँसो १ बजे ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ ।
बैठकका लागि रसुवा भोटेकोशी बाढी विपद् र पार्टीको १५ औं महाधिवेशन सम्बन्धी एजेण्डा तय गरिएको छ ।

.gif)


