काठमाडौं -  नेपालीहरुको उद्धारका लागि दुबई पुगिसकेको नेपाल एयरलाइन्सको विमान आज रित्तै फर्कने भएको छ । सरकारले उद्धार उडान स्थगित गरेपछि दुबई एयरपोर्टमा करिब एक सय नेपाली यात्रु अलपत्र परेको जनाइएको छ ।

सीसीएमसीले सोमबार परराष्ट्र र पर्यटन मन्त्रालयलाई उद्धार उडान रोक्न भन्दै पत्राचार गरेको थियो ।

सीसीएमसीले केही स्थानीय तहहरुले निषेधित क्षेत्र घोषणा गर्ने क्रम बढेको र होटल क्वारेन्टिनको व्यवस्था पनि भइनसकेको कारण देखाउँदै उद्धार उडान रोक्न भनेको थियो ।

सीसीएमसीको सोही आग्रह अनुसार विदेशबाट हुने सम्पूर्ण उद्धार उडान एक्कासी स्थगित गरेसंगै विदेशका एयरपोर्टहरुमा कयौं यात्रुहरु अलपत्र परेका हुन् ।

स्वदेश फिर्तीको सबै प्रक्रिया पूरा गरेर एयरपोर्टमा पुगेका नेपालीहरु विमान रित्तै फर्किने खबरले आक्रोशित भएका छन् ।

उनीहरुले आफूहरुको सम्पूर्ण खर्च नेपाल एयरलाइन्स वा उडान रद्द गराउने सीसीएमसी र यसका प्रमुख उपप्रधानमन्त्री ईश्वर पोखरेलले व्यहोर्नुपर्ने भन्दै सामाजिक सन्जालमा आक्रोश पोखेका हुन् ।

यता नेपाल एयरलाइन्सले भने सरकारको यो निर्णयले एयरपोर्ट पुगेका यात्रुहरुले सास्ती पाउनुका साथै एयरलाइन्सलाई समेत घाटा लागेको बताएको छ ।

निगमका प्रवक्ता अर्चना खड्काले सरकारको निर्णयसंगै दुबई पुगेको जहाज पनि रित्तै फर्कन बाध्य भएको जानकारी दिए।

यात्रुहरुले टिकट काटेको पैसा फिर्ता पाउने वा अर्को उडान भएपछि व्यवस्थापन गरिने खड्काले बताए ।