विराटनगर - सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा आइतबार राति भएको साम्प्रदायिक झडपपछि स्थानीय प्रशासनले बल प्रयोग गरेको विरोधमा सोमबार सुनसरीका विभिन्न स्थानमा प्रदर्शन चर्किएको छ।

 आइतबार राति देवानगञ्ज–३, कप्तानगञ्जमा साउने सोमबारको अवसरमा हिन्दु धर्मावलम्बीले निकाल्ने बोलबम यात्रामा सहभागी एक समूह र अर्को समूहबीच विवाद भएपछि झडप सुरु भएको थियो।

विवादले उग्र रूप लिएपछि सुरक्षाकर्मी समेत परिचालन गरिएका थिए । दुई समूहबीच भएको हिंसात्मक झडपमा स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको थियो ।

गोली लागेर देवानगञ्ज–३ का २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो भने गोली लागेर ९ जना घाइते भएका छन्। 

झडप र त्यसपछिको अवस्थासहित सुरक्षाकर्मीसमेत गरी २२ जनाभन्दा बढी घाइते भएका छन्। उनीहरूको विराटनगरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ।