विराटनगर - सुनसरीको देवानगञ्ज घटनाका बिषयमा भएको सर्वपक्षीय छलफल सकिएको छ ।

सर्वपक्षीय छलफलमा सहभागिहरुले सबै पक्षले संयमता अपनाउँदै शान्ति–सुरक्षा र सामाजिक सद्भाव कायम गर्न सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन् ।

साम्प्रदायिक झडपपछि जिल्लाका सबै सरोकारवालाको आज इनरुवामा सर्वपक्षीय छलफलको आयोजना गरिएको थियो ।

जिल्ला प्रशासन कार्यालय इनरुवाका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेको अध्यक्षतामा सोमबार बसेको सर्वपक्षीय बैठकले घटनापछि उत्पन्न अवस्थालाई थप जटिल बन्न नदिन सबै पक्ष जिम्मेवार ढंगले प्रस्तुत हुने सहमति भएको बैठकमा सहभागि नेपाली काँग्रेस सुनसरीका सचिव विरेन्द्र मेहताले बताए ।

बैठकले गृहमन्त्रालयले गठन गरेको पाँच सदस्यीय छानबिन समितिलाई निष्पक्ष अनुसन्धानका लागि आवश्यक सहयोग गर्ने निर्णय पनि गरेको छ ।

घटनाको वास्तविकता बाहिर ल्याउन छानबिन प्रक्रियामा सबै पक्षले सहयोग गर्ने र स्थानीय स्तरमा शान्ति तथा सामाजिक सद्भाव कायम राख्न साझा प्रयास गरिनेछ ।

बैठकमा सुरक्षा निकायका प्रमुख, जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि तथा विभिन्न सरोकारवालाको सहभागिता रहेको थियो ।

यसैबीच, गृहमन्त्रालयले घटनाको सत्यतथ्य छानबिन गर्न सोमबार पाँच सदस्यीय समिति गठन गरिसकेको छ ।