विराटनगर - सुनसरीको देवानगञ्जमा दुई समुदायबीच भएको झडपपछि सामाजिक तथा साम्प्रदायिक सद्भाव कायम राख्न सर्वपक्षीय सहमति भएको छ।

आइतबार राति भएको घटनापछि सोमबार जिल्ला प्रशासन कार्यालय सुनसरीमा बसेको सर्वदलीय तथा सर्वपक्षीय बैठकले शान्ति–सुरक्षा सुदृढ बनाउने, सामाजिक एकता कायम राख्ने र घटनालाई थप जटिल बन्न नदिने निर्णय गरेको हो।

प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेको अध्यक्षतामा बसेको बैठकमा राजनीतिक दलका प्रतिनिधि, जनप्रतिनिधि तथा सामाजिक एवं धार्मिक अगुवाहरू सहभागी थिए। बैठकले गृह मन्त्रालयद्वारा गठित छानबिन समितिलाई आवश्यक सहयोग गर्ने, अफवाह फैलिन नदिने र सबै पक्षलाई संयमित रहन आग्रह गर्ने निर्णयसमेत गरेको छ।

यसैगरी सुनसरी प्रहरीले सामाजिक सद्भाव र शान्ति–सुरक्षा कायम गर्न सबै पक्षले आ–आफ्नो ठाउँबाट सक्रिय भूमिका खेल्ने प्रतिबद्धता जनाएको छ। निर्णयसँगै स्थानीय जनप्रतिनिधि तथा सामाजिक–धार्मिक अगुवाहरूले समुदायबीच विश्वास कायम गर्ने पहल सुरु गरिसकेका छन्।

देवानगञ्ज–३, कप्तानगञ्जमा आइतबार बोलबम यात्राका क्रममा डिजे बजाउने विषयमा सुरु भएको विवाद हिंसात्मक बनेपछि सुरक्षाकर्मीले गोली चलाएका थिए। घटनामा गोली लागेर देवानगञ्ज–४ का २५ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो।

झडपमा १३ जना सुरक्षाकर्मीसहित ९ जना सर्वसाधारण घाइते भएका छन्।  यसअघि गृहमन्त्री सुधन गुरुङले सुरक्षा निकायका प्रमुखहरूसँग आकस्मिक छलफल गरी देवानगञ्ज घटनाबारे विस्तृत ब्रिफिङ लिएका थिए।

सोही छलफलपछि घटनाको सत्यतथ्य पत्ता लगाउन गृह मन्त्रालयका सहसचिव भूपेन्द्र थापाको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको छ। उक्त छानबिन समितिलाई प्रतिवेदन बुझाउन एक हप्ताभित्र म्याद दिइएको छ ।