काठमाडौं - सेवाग्राहीबाट घुस लिइसकेको अवस्थामा नापी अधिकृत पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा नापी कार्यालय डिल्लीबजार ३ नं. नापी टोली माछापोखरी, काठमाडौँका टोली प्रमुख नापी अधिकृत डिल्लीबहादुर वली रहेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई घुसररिसवत बापत नौ लाख रूपैयाँ लिइसकेको अवस्थामा पक्राउ गरेको हो ।

अख्तियारका प्रवक्ता सुरेश न्यौपानेका अनुसार वलीले छुट जग्गा दर्ता सिफारिससहितको मिसिल पत्र भूमि प्रशासन कार्यालय, मनमैजु पठाउनका लागि सेवाग्राहीलाई अनावश्यक सास्ती, दुःख र हैरानी दिँदै घुस माग गरिरहेका थिए ।

सोही सूचना तथा उजुरीका आधारमा टङ्गालबाट खटिएको अख्तियारको टोलीले उनलाई ९ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा काठमाडौंको टोखा नगरपालिका–५ स्थित वसुन्धारा चोकको एक रेस्टुरेन्टबाट भदौ ३१ गते नियन्त्रणमा लिएको थियो ।

पक्राउ परेका नापी अधिकृत वलीविरुद्ध विशेष अदालतबाट म्याद थप गरी भ्रष्टाचारसम्बन्धी मुद्दामा थप अनुसन्धान अगाडि बढाइएको छ ।