काठमाडौं - पछिल्लो २४ घण्टामा कुनै पनि व्यक्तिमा कोरोना भाइरसको संक्रमण नभेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयमा नियमित आयोजित मिडिया ब्रिफिङमा बोल्दै मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले आज नयाँ संक्रमित नभेटिएको जानकारी दिएका हुन् ।

हालसम्म नेपालमा ४९ जना संक्रमित भेटिएकोमा १२ जना निको भएर घर फर्केका छन् । संक्रमितमध्ये एकजनाको धनगढीमा, ५ जना विराटनगरमा, १ जना भरतपुरमा, ३० जना विराटनगरमा उपचाररत छन् । उपचाररत संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेकाे डा. देवकोटाले बताए ।

उनका अनुसार कोरोनाको आशंकामा नेपालमा परीक्षण हुनेको संख्या ४९ हजार ३ सय ३६ पुगेको छ । जसमध्ये ९ हजार ६ सय ६६ जनाको पिसिआर र ३९ हजार ६ सय ७० जनाको आरडिटिबाट परीक्षण भएको छ । हाल नेपालमा १४ हजार ७ सय ३१ जना क्वारेन्टाइनमा रहेका छन् भने आइसोलेसनमा ८७ जना रहेका छन् ।