काठमाडौं - शीतलहरका कारण तराईको जनजीवन प्रभावित बनेको छ । गएको मंगलबारदेखि लागेको बाक्लो हुस्सु र कुहिरो नहटेको तथा चिसो हावा चलिरहेकाले जनजीवन प्रभावित भएको हो ।

चिसोबाट सबैभन्दा धेरै बालबालिका, वृद्धवृद्धा र मजदुर समस्यामा परेका छन् । शीतलहरका कारण मानिस घरबाहिर निस्कन नसक्दा तराईका बजारमा चलहपहल घटेको छ ।विशेषगरी कैलाली, कञ्चनपुर, बाँके, बर्दिया, दाङ, कपिलवस्तु, रुपन्देही, नवलपुर, चितवन, पर्सालगायतका जिल्लाहरुमा शीतलहरको असर बढी परेको छ ।

शीतलहरका कारण अत्याधिक चिसो बढेपछि धनगढी उपमहानगरपालिका भित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालय आज र भोलि बन्द गर्ने निर्णय भएको छ ।सबै सरोकारवालासँग धनगढी उपमहानगरपालिकाले छलफल गरेपछि उक्त निर्णय गरेको हो ।

शनिबारको मौसमी अवस्था हेरेपछि थप के गर्ने भन्ने बिषयमा भने निर्णय लिइने उपमहानगरपालिकाका मेयर निर्प ओडले जानकारी दिए ।उता भिमदत्त नगरपालिका कञ्चनपुरले पनि चिसोका कारण आज र भोलि बिद्यालय बन्द गर्ने निर्णय गरिसकेको छ ।

आज पनि तराईमा दिनभर हुस्सु र कुहिरो लाग्ने भएकाले सावधानी अपनाउन मौसम पुर्वानुमान महाशाखाका मौसमविद् शान्ती कँडेलले आग्रह गरिन ।शुक्रबारसम्म तराईका क्षेत्रमा शीतलहर कायम रहने र त्यसपछि फेरि पश्चिमी वायुको सामान्य प्रभाव हुने भएकाले पानी पर्ने सम्भावना छ ।

यता, हुस्सु लाग्न थालेपछि सर्लाहीसहित तराईका जिल्लाका किसान चिन्तित भएका छन् ।हुस्सुले तोरी, गोलभेंडा, आलु, लहरी जस्ता बालीमा क्षति पुर्‍याउने भएपछि किसान चिन्तित भएका हुन् ।तोरी फूल्ने बेला हुस्सु लाग्न सुरु भएपछि लाइरकीराको प्रकोप देखिने भन्दै ईश्वरपुर नगरपालिका–७ का किसानलाई चिन्ताले सताएको छ  ।