काठमाडौं - भोटेकोसी नदीमा आएको विनाशकारी बाढीपछि भारतले नेपाललाई निरन्तर राहत तथा उद्धार सामग्री उपलब्ध गराउँदै आएको छ ।
भारतीय वायुसेनाका सातवटा विमानमार्फत हालसम्म करिब ९५.५ टन राहत तथा उद्धार सामग्री नेपाल ल्याइएको छ।
बाढी प्रभावितका लागि भारतले अस्थायी आश्रयस्थल निर्माणमा प्रयोग हुने सामग्री, कम्बल, सरसफाइ किट, सोलार बत्ती, टेन्ट, स्लिपिङ ब्याग, त्रिपाल, प्लास्टिकका सिट, पानी तान्ने पम्प, भान्साका सामग्री, जेनेरेटर, औषधि, पानी शुद्ध गर्ने ट्याब्लेट र खाद्यान्नलगायत सामग्री पठाएको हो। खोज तथा उद्धार कार्यका लागि मात्रै ६ टन विशेष उपकरण समेत नेपाल ल्याइएको छ।
राहत सामग्रीसँगै भारतले उद्धार तथा स्वास्थ्य सेवामा सहयोग पुर्याउन विशेषज्ञ टोलीसमेत नेपाल पठाएको छ। नेपाल आएका टोलीमा पाँच सदस्यीय भारतीय सेनाको सुरुङ उद्धार ‘रेकी’ टोली, छ सदस्यीय चिकित्सा टोली, विशेष उपकरणसहितको १३ सदस्यीय सुरुङ उद्धार टोली, १९ सदस्यीय फरेन्सिक टोली र ११ सदस्यीय उद्धार टोली छन्।
भारतबाट भदौ १० गते पहिलो उडानमार्फत १० टन आपत्कालीन राहत सामग्री नेपाल ल्याइएको थियो। त्यसमा अस्थायी आश्रयस्थलका सामग्री, कम्बल, सरसफाइ किट, सोलार बत्ती र औषधि थिए।
भदौ ११ गते दोस्रो उडानमार्फत थप ३७।५ टन राहत सामग्री ल्याइएको थियो। त्यसमा २८।५ टन टेन्ट, कम्बल, सरसफाइ किट, सोलार बत्ती, पानी तान्ने पम्प, भान्साका सामग्री र जेनेरेटर थिए। त्यस्तै आठ टन औषधि र एक टन खाद्यान्नसमेत ल्याइएको थियो।
भदौ १२ गतेको तेस्रो उडानमार्फत भारतीय सेनाको पाँच सदस्यीय सुरुङ उद्धार ‘रेकी’ टोली र छ सदस्यीय चिकित्सा टोली नेपाल आएका थिए। सोही उडानबाट पोर्टेबल जेनेरेटर, डिग्निटी किट, खाद्यान्न, पानी शुद्ध गर्ने ट्याब्लेट र औषधिसहित थप १० टन सामग्री ल्याइएको थियो।
भदौ १३ गते चौथो उडानमार्फत ११ टन राहत सामग्री नेपाल ल्याइएको थियो। कम्बल, स्लिपिङ ब्याग, त्रिपाल, प्लास्टिकका सिट र सरसफाइ किटलगायत सामग्री उक्त उडानमा थिए। सोही क्रममा सुरुङ उद्धारका लागि प्राविधिक टोली तथा डीएनए विश्लेषणका लागि फरेन्सिक विशेषज्ञ टोलीसमेत नेपाल आएको थियो।
त्यसपछि भदौ १७ गते पाँचौं उडानमार्फत ५।५ टन औषधि र ६ टन विशेष उद्धार उपकरण ल्याइएको थियो। सोही उडानबाट ११ सदस्यीय उद्धार टोली पनि नेपाल आएको थियो।
भदौ १८ गते छैटौं र सातौं उडानमार्फत फरेन्सिक किट तथा चिकित्सा सामग्रीसहित थप २१।५ टन राहत सहायता नेपाल ल्याइएको थियो। यसरी सातवटा उडानमार्फत भारतले राहत सामग्रीसँगै सुरुङ उद्धार, खोज तथा शव पहिचानका लागि आवश्यक जनशक्ति र उपकरणसमेत नेपाल पठाएको हो।
यसैबीच, नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले बिहीबार बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरेका छन्। उनले रसुवाको स्याफ्रुबेसीस्थित चिलिमे क्षेत्रमा उद्धारमा खटिएको भारतीय प्राविधिक टोलीसँग भेट गरी उद्धार कार्यबारे जानकारी लिएका थिए।
भारतीय प्राविधिक टोली नेपाली सेनासँगको सहकार्यमा चिलिमे पावरहाउसको सुरुङभित्र फसेकाहरूको उद्धारका लागि उत्खननमा जुटेको छ। विशेष उपकरण प्रयोग गरेर टोली सुरुङभित्र करिब १०० मिटर प्रवेश गरी अवस्था निरीक्षण गरिसकेको राजदूत श्रीवास्तवले बताएका छन्।
उनका अनुसार सुरुङभित्रको जमिन दलदलजस्तो रहेको र भू–भाग अत्यन्त चुनौतीपूर्ण छ। कठिन परिस्थितिका बाबजुद भारतीय र नेपाली उद्धार टोली निरन्तर खोज तथा उद्धार कार्यमा जुटिरहेको उनले बताएका छन्।
भोटेकोशी बाढीपछि नेपालमा उद्धार, राहत तथा शव पहिचानको काम चुनौतीपूर्ण बन्दै गएका बेला भारतबाट प्राप्त सामग्री, उपकरण र विशेषज्ञ जनशक्तिले विपद् व्यवस्थापनमा थप सहयोग पुगेको छ।

.gif)


