काठमाडौं - एनआईसी एशिया बैंक लिमिटेडका ग्राहक महानुभावहरूलाई काठमाडौंस्थित हायात रिजेन्सी होटलका विभिन्न सेवाहरूमा १५% सम्म छुट उपलब्ध गराउने गरी बैंक र होटलबीच समझदारी भएको छ । यो योजना एक वर्षको लागि लागू हुने बैंक र होटलको समझदारी छ ।

समझदारीपत्रमा बैंकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी तथा होटलको तर्फबाट महाप्रबन्धक राजेश रामदासले हस्ताक्षर गरे ।

उक्त समझदारी बमोजिम यस बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरूले होटलको फूड, बेभरेज, स्पा तथा लाउण्ड्री सेवाहरू प्रयोग गरे वापत रकम भुक्तानी गर्दा कारोबार रकमको १५% सम्म छुट पाउनेछन ।

साथै यस बैंकका कर्मचारीहरूलाई पनि सो योजना अनुसारको छुट उपलब्ध हुनेछ । यसैगरी ग्राहक महानुभावहरूले देशभरका २,४०० वटा भन्दा बढी अस्पताल, होटल तथा रेष्टुरेन्ट, डिपार्टमेन्ट स्टोर लगायतमा सेवा लिई कारोबार रकमको ३० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन ।

बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा यस बैंकको मुलुकभर ३१९ शाखा कार्यालयहरु, ४५४ एटिएम, १०८ वटा एक्स्टेन्सन काउण्टर एवं ६० वटा शाखारहित बैंकिङ्गमार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।