काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले सरकार फेरिएसँगै प्रदेश प्रमुख परिवर्तन हुनु सामान्य प्रक्रिया भएको बताएका छन् ।

नेपालगन्जमा मंगलबार बिहान आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले सरकार परिवर्तनसँगै प्रदेश प्रमुखहरुले राजीनामा दिनुपर्ने भएपनि त्यसो नभएर अघिल्लो सरकारले नियुक्त गरेका प्रदेश प्रमुखहरुलाई दुई वर्षसम्म काम गर्न दिएको बताएका हुन् ।

यो व्यवस्था नेपालमा मात्र होइन विदेशमै पनि सरकार परिवर्तन गएसँगै प्रदेश प्रमुख फेरिने प्रचलन रहेको प्रचण्डले बताएका छन् ।

उनले भने,  ‘कयौँ देशमा सरकार फेरिएसँगै प्रमुखले नैतिक रुपमा राजीनामा दिने र सरकारलाई काम गर्न सहज गर्ने प्रचलन छ । हाम्रो सरकार उदार भएकाले उहाँहरुलाई २ वर्ष काम गर्न दिइयो ।’

 सत्ता साझेदार समाजवादी पार्टी नेपालसँग पनि सल्लाह गरेर प्रदेश प्रमुख फेरिएको प्रचण्डले दाबी गरे । ‘प्रदेश प्रमुख फेर्ने विषयमा उपेन्द्रजीसँग सल्लाह भएको हो । उहाँले क्याबिनेटमा पनि आफ्नो कुरा राख्नु भयो होला । पुरानोजति सबै पदमुक्त गर्ने भनिएकाले यसो भएको हो’ प्रचण्डले भने, ‘उपेन्द्रजीले पहिला हामीसँग सहमति गरेर गभर्नर सिफारिस भएको होइन । पुरानो नियुक्त भएका सबै हटाउँदा उहाँको पनि परेको मात्रै हो ।’