काठमाडौं - काठमाडौंको कुलेश्वरमा प्रहरीले गोली चलाएर लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा दुई नेपाली र एक भारतीय नागरिक रहेका छन्।

लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले आइतबार कुलेश्वर पुलनजिक विशेष सूचनाका आधारमा उनीहरूलाई नियन्त्रणमा लिने प्रयास गरेको थियो।

पक्राउबाट उम्किन खोजेपछि इन्स्पेक्टर राकेश यादव नेतृत्वको टोलीले दुई राउण्ड गोली चलाएको हो

ब्यूरोका अनुसार कारबाहीका क्रममा चलाइएको गोली लागेर भारतीय नागरिक घाइते भएका छन्। 

उनको देब्रे खुट्टामा गोली लागेको छ भने उपचारका लागि अस्पताल पठाइएको छ।

प्रहरीका अनुसार पक्राउ परेका दुवै जनाबाट ठूलो परिमाणमा औषधिजन्य लागुऔषध बरामद गरिएको छ। 

बरामद लागुऔषधको परिमाण तथा प्रकृतिबारे भने प्रहरीले विस्तृत विवरण सार्वजनिक गरिसकेको छैन।

घटनाबारे थप अनुसन्धान भइरहेको र पक्राउ परेका दुवै जनामाथि लागुऔषध कारोबारसम्बन्धी कसुरमा कानुनी प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ।