बागलुङ - कोरोना सङ्क्रमणको जोखिम हुन नदिन सदरमुकाममा सञ्चालित बैंकले आलापालो गरी सेवा दिने भएका छन् । २८ बैंकमध्ये अधिकांश हप्ताको दुई दिन र केही तीन दिन खुल्ने भएका हुन् । बागलुङ नगरपालिका र बैंकर्स एशोसिएसनबीचको समझदारीमा उक्त निर्णय भएको हो ।

बैंकले बिहान ११ देखि १ बजेसम्म मात्र सेवा दिने गरी प्रबन्ध मिलाइएको बागलुङ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत डण्डपाणि शर्माले जानकारी दिए ।

नेपाल बैंक लिमिटेड, राष्ट्रिय वाणिज्य बैंक र प्रभु बैंक आइतबार, मङ्गलबार र बिहीबार खुल्नेछ । ग्लोबल आइएमई, एभरेष्ट, सिटजन, बैंक अफ काठमाण्डू, सेञ्चुरी कमर्सियल, गण्डकी विकास बैंक, गरिमा विकास बैंक, ग्रिन डेभलपमेण्ट, हिमालयन र ज्योति विकास बैंकले आइतबार र बुधबार सेवा प्रवाह गर्नेछ ।

यस्तै कुमारी, लक्ष्मी, माछापुच्छ्रे्र, नबिल, नेपाल बंगलादेश, नेपाल क्रेडिट एण्ड कमर्स बैंक, मुक्तिनाथ विकास बैंक, कामना सेवा विकास बैंक सोमबार बिहीबार खुल्नेछ ।

एनआइसी, एनएमबी, प्राइम कर्मसियल, कृषि विकास, साङ्ग्रिला विकास, नेपाल एसबीआइ र सिद्धार्थ बैंकले मङ्गलबार र शुक्रबार सेवा दिनेछ । सबै बैंक एकसाथ खुल्दा सेवाग्राहीको भीडभाड हुने र कारोना सङ्क्रमणको जोखिम बढ्ने देखिएकाले आलोपालो गरेर बैंक खोल्ने निर्णय भएको बैंकर्स एशोसिएसनले जनाएको छ ।