काठमाडौं - आईसीसी क्रिकेट विश्वकप लिग–२ का लागि नेदरल्यान्ड्समा रहेको नेपाली टोलीले त्रिदेशीय सिरिजको पहिलो खेल आज नामिबियासँग खेल्दैछ। खेल नेपाली समय अनुसार पौने ३ बजे सुरु हुनेछ।
यस सिरिजमा आयोजक नेदरल्यान्ड्स, नेपाल र नामिबियाबिच प्रतिस्पर्धा हुन लागेको हो। आठ टोली सहभागी सिरिजमा हाल पाँचौँ स्थानमा रहनेको नेपाललाई शीर्षचारमा रहँदै विश्वकप ग्लोबल छनोट हुन अबका खेलहरु जित्दै जानुपर्ने छ।
एक समय सिरिजमा निराश देखिएको नेपालले गत जेठमा घरेलु मैदान कीर्तिपुरमा ओमान, यूएई, अमेरिका र स्कटल्यान्डविरुद्ध खेलिएको सिरिजका आठ खेलमध्ये ६ खेलमा जित निकाल्दै आफुलाई पाँचौँ स्थानमा उभ्याएको थियो।
नेपाल घरेलु मैदानमा दुई सिरिज खेल्नुअघि सातौँ स्थानमा थियो। अब नेपालले नेदरल्यान्ड्समा घरेलु मैदानकै लय पछ्याएमा शीर्षचारमा रहने सम्भावना कायम राख्नेछ। नेदरल्यान्ड्समा नेपाली टोलीको लक्ष्य सोही हुनेछ।
नेपालले सिरिजको दोस्रो खेल साउन ७ गते बिहीबार आयोजक नेदरल्यान्ड्ससँग खेल्नेछ। त्यसपछि नेपालले साउन ११ गते नामिबिया र १३ गते पुन: नेदरल्यान्ड्सँग खेल्नेछ।
पाँचौँ स्थानमा रहेको नेपालले २८ खेलबाट २४ अङ्क बनाएको छ । समान खेलबाट ३२ अङ्क बनाएको नेदरल्यान्ड्स तेस्रो र २२ अङ्क बनाएको नामिबिया सातौँ स्थानमा छ।

.gif)



