लोकसेवाका कर्मचारी सरुवा गर्दा स्वीकृति लिन नपर्ने
काठमाडौं - लोकसेवा आयोगका कर्मचारी सरुवा गर्दा आयोगको स्वीकृति लिन नपर्ने व्यवस्था गरिएको छ ।
प्रतिनिधिसभाअन्तर्गत्को राज्य व्यवस्था तथा सुशासन समितिको बिहीबार सिंहदरबारमा बसेको बैठकमा लोकसेवा आयोग विधेयक, २०७५ माथिको दफावार छलफलका क्रममा लोकसेवा आयोगका कर्मचारी सरुवा गर्दा आयोगको स्वीकृति लिन नपर्ने प्रस्तावित विधेयकको व्यवस्थालाई नै कायम राख्ने सहमति भएको हो ।
यसअघि लोकसेवा आयोगका कर्मचारी सरुवा गर्दा सरकारले लोकसेवा आयोगको स्वीकृति लिनुपर्ने व्यवस्था थियो ।
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद विजय सुब्बा, यशोदा गुरुङ सुवेदी र प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद सञ्जयकुमार गौतमले आयोगका कर्मचारी सरुवा गर्दा आयोगको स्वीकृति लिनुपर्ने विगतकै व्यवस्था राख्नुपर्ने धारणा राखेका थिए ।
बैठकमा सत्तारुढ दलका सांसद नवराज सिलवाल, महेश्वरजंग गहतराजलगायतले विधेयकमा प्रस्तावित व्यवस्थालाई नै कायम राख्नुपर्नेमा जोड दिएका थिए । सांसद सिलवालले संवैधानिक निकाय सरकारभन्दा माथि हुन नसक्ने भन्दै सरकारका काम–कारबाहीलाई कुनैपनि आयोगले बाधा पार्न नहुने बताए ।
त्यस्तै सांसद पम्फा भुसाल, रेखा शर्मालगायतका सांसदहरुले लोकसेवा आयोग विधेयक संघीयताको मर्म र भावनाअनुसार आउनुपर्ने धारणा राखेका थिए ।
फेसबुक पेज Like गर्नुहोस