भेरोसेलको खोप लिन नेपाल एयरलाइन्सको जहाज आज चीन जाँदै
काठमाडौं - नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)को जहाज कोरोना भाइरस (कोभिड-१९)विरुद्धको खोप ‘भेरोसेल’ ल्याउन आज चीन जाने भएको छ ।
नेपाल एयरलाइन्सका महाप्रबन्धक डिमप्रकाश पौडेलका अनुसार चीनबाट कोरोनाविरुद्धको थप १० लाख खोप लिन निगमको बाइडबडी ए ३३० जहाज बिहीबार चीन जान लागेको हो । उक्त जहाजले शुक्रबार भेरोसेल खोप काठमाडौं ल्याउने बताइएको छ ।
साउन ८ गतेसम्म तीनवटा उडानमार्फत खोप ल्याउने तयारी गरिएको छ । दोस्रोपटकको लागि असार ३१ गते बाइडबडी जहाज खोप लिन चीन जानेछ र साउन १ गते ल्याउनेछ भने साउन ७ गते पुनः जहाज चीन गएर साउन ८ गते खोप ल्याउने छ। सरकारले सरकार–सरकार (जिटुजी)मार्फत चीनबाट खोप खरिद सम्झौता गरेको हो । उक्त खरीद गरेर ल्याइने भेरोसेल खोप ६० वर्ष मुनि उमेर समूहका नागरिकलाई लगाउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तयारी छ।
कोरोनाविरुद्धको खोप अभियानअन्तर्गत गत वैशाख ३१ गतेबाट पहिलो मात्रा (डोज) लगाउन सरकारले नागरिकबाट आवेदन माग गरेको थियो। जसमा करिब १४ लाख नागरिकले स्वैच्छिक आवेदन दिएका छन्।
सिनोफार्मले उत्पादन गरेको भेरोसेल खोप नेपालमा लगाइँदै आएको छ। यसअघि चीन सरकारले अनुदानमा खोप दिएको थियो। अहिले ज्येष्ठ नागरिकलाई भेरोसेलको दोस्रो डोज लगाइँदै छ।
नेपालमा अहिलेसम्म ४२ लाख ४८ हजार खोप आएको छ । नेपालमा १८ वर्षभन्दा माथिका कुल दुई करोड २० लाख जनसङ्ख्यालाई खोप लगाउने लक्ष्य लिइएको छ । नेपालमा अहिलेसम्म २६ लाख ११ हजार ८०७ जनालाई पहिलो मात्रा र आठ लाख ५१ हजार ३०० जनालाई दोस्रो मात्रा खोप प्रदान गरिएको छ।
फेसबुक पेज Like गर्नुहोस