कञ्चनपुर-भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले देशभरका भूमिहीन सुकुम्वासी, भूमिहीन दलित तथा अव्यवस्थित बसोबासीको समस्या समाधान गरी ५०० दिनभित्र लालपुर्जा वितरण गर्ने लक्ष्य सार्वजनिक गरेकी छन्।
आइतबार कञ्चनपुरमा स्थानीय भूमिहीन बस्तीका बासिन्दासँग भेटघाट गर्दै मन्त्री रावलले सरकार गठन भएदेखि नै भूमिहीनको समस्या समाधानलाई प्राथमिकतामा राखेर काम अघि बढाइरहेको बताएकी हुन् ।
उनले भनिन्- 'अहिले झण्डै झण्डै पाँच महिना भयो यो सरकार गठन भएको । हामी ‘डे वान’ देखि यसमा खटिएका छौँ । यो विषयलाई कसैको ‘चुनावी फण्डा’ बन्न दिने छैनौँ । सरकारले काम गरिरहेको छ, अबको केही समय धैर्य धारण गरिदिनुहोला ।'
लामो समयदेखि समाधान हुन नसकेको विषय भएकाले कानुनी तथा नीतिगत जटिलता रहे पनि त्यसको समाधान खोजिने उनको भनाइ छ।
रावलले भूमिहीन नागरिकलाई विस्थापनको त्रासमा नरहन आग्रह गर्दै कानुनअनुसार लालपुर्जा प्राप्त गर्न योग्य व्यक्तिलाई आवश्यक प्रक्रिया पूरा गरी जग्गाको स्वामित्व उपलब्ध गराइने बताइन्। वैकल्पिक व्यवस्था नगरी कुनै पनि नागरिकलाई विस्थापित नगरिने उनले स्पष्ट पारिन्।
केही जग्गा हाल नकारात्मक सूचीमा परे पनि आवश्यक नीतिगत सुधारमार्फत समस्या समाधान गर्ने विकल्प खोजिने मन्त्री रावलले बताइन्। भूमिहीनको समस्या संवेदनशील भएकाले दीर्घकालीन समाधानका लागि कानुनी व्यवस्थासहित समग्र प्रक्रिया अघि बढाइने उनको भनाइ छ।
भूमिहीनसँगै सहकारी पीडितको समस्या पनि सरकारको प्राथमिकतामा रहेको उनले जानकारी दिइन्। निर्धारित प्रक्रिया पूरा गरी भूमिहीन सुकुम्वासी, भूमिहीन दलित तथा अव्यवस्थित बसोबासीलाई भूमिको स्वामित्व दिलाउने सरकारको उद्देश्य रहेको उनले बताइन्।
समस्या जटिल भएकाले तत्कालै सबै प्रक्रिया पूरा हुन नसके पनि काम सुरु भइसकेको भन्दै उनले नागरिकलाई धैर्य गर्न आग्रह गरिन्। भूमिहीनको समस्या राजनीतिक प्रचार वा चुनावी मुद्दामा सीमित नगरी व्यवहारिक समाधानमा केन्द्रित हुने उनको दाबी छ।
यसैबीच, मन्त्री रावलले काम सम्पन्न नगरी पदमा रहेका व्यक्तिलाई सम्मान गर्ने प्रवृत्तिप्रति असन्तुष्टि जनाएकी छन्। कञ्चनपुरमा आफ्नो स्वागतका लागि तयार पारिएको अबिर र खादा ग्रहण नगरेकी उनले नागरिकका समस्या समाधान गरेर फर्किएपछि मात्रै त्यस्तो सम्मान स्वीकार गर्ने बताइन्।
आफ्नो दल वा अन्य राजनीतिक दलका नेताहरूलाई समेत काम पूरा हुनुअघि सम्मान गर्न हतार नगर्न उनले नागरिकलाई आग्रह गरिन्। अर्को पटक कञ्चनपुर आउँदा भूमिहीनको समस्या समाधानतर्फ ठोस प्रगति भएको अवसरमा मात्रै अबिर र खादा ग्रहण गर्ने उनको भनाइ थियो।
'तपाईँहरूको समस्या समाधान गरेर आएपछि मात्र म अबिर र खादा लगाउँछु । काम नगरी सम्मान लिनुको कुनै अर्थ छैन ।’ पहिला तपाईँहरूको यत्रो वर्षौँदेखि भोगिरहेको समस्याको समाधान हुनुपर्छ। त्यसपछि बल्ल त्यो नेताले, त्यो मन्त्रीले तपाईँहरूले दिएको खादा, तपाईँहरूले दिएको अबिर, तपाईँहरूले दिएको फूल उसले बल्ल डिजर्भ गर्छ ' रावलले भनिन् ।

.gif)


