काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार स्वदेश फर्किने भएका छन् । बुधवार उनको सातौं चरणको उपचार प्रक्रिया सकिएपछि स्वदेश फर्किने भएका हुन् ।

भदौ ५ गते स्वास्थ्य उपचारका लागि सिंगापुर प्रस्थान गरेका ओलीको प्लाज्मा फेरेसिस प्रक्रियाबाट एण्टीबडीको मात्रा घटाउन उपचार भइरहेको छ ।

ओलीले आइतबार साँझ नेकपा संसदीय दलका कार्यवाहक नेता सुवास नेम्वाङलाई फोन गरेर आफू ठीकठाक रहेको सन्देश प्रवाह गरिदिन आग्रह गरेका थिए ।

प्रधानमन्त्रीको स्वास्थ्यबारे जानकारी दिँदै नेम्वाङले भने, 'उहाँले हिँजो साँझ आफैंले मलाई फोन गर्नुभएको थियो । मैले उहाँलाई कस्तो छ भनेर सोध्दा आफू एकदम ठीक छु र यसअघिको निर्धारित कार्यक्रम अनुसार नै २० गते फर्किन्छु भन्नुभएको छ । उहाँको बोली सुन्दा पनि तन्दुरुस्त र उत्साहित हुनुहुन्छ ।'

आफू र प्रधानमन्त्रीबीच संसदीय काम कारवाहीकै बारेमा बढी कुराकानी भएको नेम्वाङले बताए ।