‘सरकारले दम्भ देखाएर न्यायालयलाई नियन्त्रणमा लियो’
प्युठान - प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले अदालति प्रकृयामा नै बाधा गरिरहेको बताएका छन् । उनले सरकारले दुइ तिहाइको दम्भ देखाएर न्यायालय र संवैधानिक निकायलाई नियन्त्रणका लिएको बताए ।
दोस्रो जागरण अभियानका क्रममा प्युठान पुगेका नेता पौडेलले एक कार्यक्रमका बीच सरकारले अख्तियार, अदालतलगायतका संवैधानिक निकायलाई दुईतिहाइ देखाएर तर्साएकाले मुलुकमा भएका ठूला आर्थिक घोटालाहरुको निष्पक्ष छानविन हुन नसकेको बताए ।
‘हरेक संवैधानिक निकायलाई नियन्त्रण गर्न खोजिएको छ । त्यो संविधानविपरीत हो । अख्तियार, अदालतलाई तर्साउन खोजिँदैछ । जनताले दिएको दुईतिहाइको मतलाई निरकुंश शासन चलाउनका लागि प्रयोग गरिएको छ,’ उनले भने ।
वरिष्ठ नेता पौडेलले ठूला आयोजनालाई कमिशनको चक्करमा अलपत्र पारिएको आरोप लगाए । उनले विना प्रतिष्पर्धा ठूला आयोजनालाई ठेक्का दिन सुरु गरेबाट आर्थिक अनियमितता भएको पुष्टि हुने पनि बताए । उनले भने, ‘ठूलाठूला आयोजनालाई कमिशनको चक्करमा अलपत्र पारिएको छ । विना प्रतिष्पर्धा ठूला आयोजनालाई ठेक्का दिने काम भएको छ । ठूलाठूला आयोजना ठूलाठूला मान्छे मिलेर मात्र भएका छन् ।’
नेता पौडेलले मुलुक सत्ता र पैसाको दुष्चक्रमा फस्न लागेको भन्दै चिन्ता व्यक्त गरे । ‘अहिले मुलुकलाई सत्ता र पैसाको दुष्चक्रमा फसाउन लागिएको छ । हिजो सरकारमा पुग्नेवित्तिकै कांग्रेसले गाउँबाट विकास सुरु गर्यो । बाटो, बिजुली, पानी शिक्षा र स्वास्थ्य गाउँगाउँमा हामीले पुर्याएको हो,’ उनले भने, ‘हामीले गाउँगाउँमा विकासको सुरुवात गर्न थालेसँगै गाउँगाउँमा मान्छे काट्न थालियो । मान्छे काट्नेहरु सबै एकैठाँउमा पुगेर सत्ता सञ्चालन गरेपछि अहिले विकास के भएको छ रु बाहिर एउटा कुरा गर्ने अनि काम अर्कै गर्ने नेताहरुदेखि अब सचेत हुन जरुरी छ ।’
फेसबुक पेज Like गर्नुहोस