काठमाडौं - भोटेकोसी बाढीबाट प्रभावित नेपाली नागरिकका लागि भारतले चौथोपटक राहत सामग्री नेपाल पठाएको छ ।

भारतले खोज, उद्धार तथा राहत कार्यमा आवश्यक पर्ने ११ टन सामग्रीसहित सी–१३० सैन्य विमान शनिबार राति नेपाल पठाएको हो।

भारतका विदेशमन्त्री एस जयशंकरले सामाजिक सञ्जालमार्फत राहत सामग्री नेपाल पठाइएको जानकारी दिएका हुन्। उनका अनुसार यसपटक बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि आवश्यक उपकरणसहितको सुरुङ प्राविधिक टोली (टनेल टेक्निकल टिम) समेत नेपाल पठाइएको छ।

त्यस्तै, बाढीमा ज्यान गुमाएकाहरूको पहिचान तथा अनुसन्धानका लागि फोरेन्सिक उपकरणसहित डीएनए विश्लेषण गर्ने विशेषज्ञ टोली पनि नेपाल आएको छ। राहत सामग्रीमा कम्बल, स्लिपिङ ब्याग, त्रिपाल, प्लास्टिक सिट तथा हाइजिन किटलगायत सामग्री छन्।

बाढीका कारण भौतिक पूर्वाधारमा पुगेको क्षतिलाई मध्यनजर गर्दै भारतले २३० फिट लामो सिंगल लेन मोड्युलर स्टिल पुल निर्माणका लागि आवश्यक उपकरणसमेत पठाएको छ। ती उपकरण बोकेका १६ वटा ट्रक नेपाल आइपुगेका छन्।

जयशंकरका अनुसार भारतले यसअघि पनि बाढीपीडितका लागि औषधि, पोर्टेबल जेनेरेटर सेट, खाद्य प्याकेट, पानी शुद्धीकरण ट्याब्लेट तथा विभिन्न प्राविधिक उपकरण नेपाल पठाउँदै आएको छ।

उनका अनुसार हालसम्म भारतले हवाईमार्गबाट मात्रै ६८.५ टन राहत सामग्री काठमाडौं पुर्‍याइसकेको छ। पछिल्लो खेपसँगै भारतको राहत सहयोगमा खोज तथा उद्धारका लागि आवश्यक प्राविधिक जनशक्ति र उपकरणसमेत थपिएको छ।