रुपन्देही - भैरहवाका उद्योगी तथा व्यवसायीले सीमा क्षेत्रको व्यापार प्रवर्द्धन र पर्यटन व्यवसायमा देखिएका समस्या समाधानका लागि सहजीकरण गरिदिन प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालसँग आग्रह गरेका छन् ।
सीमावर्ती क्षेत्रमा भारतीय पर्यटकको आवागमन, मालवाहक सवारीसाधनको ढुवानी तथा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालनमा विभिन्न समस्या रहेको भन्दै व्यवसायीले त्यसको नीतिगत तथा कानुनी समाधान खोज्न सभामुखको ध्यानाकर्षण गराएका हुन् ।
पर्यटन व्यवसायी सञ्जय बजिमयले सभामुख अर्याललाई लिखित पत्र बुझाउँदै भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान नियमित सञ्चालनका लागि आवश्यक सहजीकरण गरिदिन आग्रह गरे ।
विमानस्थल सञ्चालन र अन्तर्राष्ट्रिय उडान विस्तारले यस क्षेत्रको पर्यटन तथा आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पार्ने भएकाले राज्यका तर्फबाट आवश्यक पहल हुनुपर्ने उनको माग छ ।
त्यस्तै प्रतिनिधिसभाका पूर्वसांसद तथा पर्यटन व्यवसायी प्रमोदकुमार यादवले भारतीय पर्यटकले नगद रकम बोकेर नेपाल भ्रमणमा आउँदा प्रहरी प्रशासनबाट पक्राउ पर्ने तथा थुनामा राखिने गरेको विषय उठाए ।
यस्तो अवस्थाले भारतीय पर्यटकको आवागमन र सीमावर्ती क्षेत्रको पर्यटन व्यवसायमा नकारात्मक असर परेको भन्दै यसलाई व्यवस्थित गर्न संसद्ले स्पष्ट कानुनी व्यवस्था गर्नुपर्ने उनले माग गरे ।
यादवले भारतीय पर्यटकलाई नेपाल भ्रमणका क्रममा अनावश्यक सास्ती भोग्नुपर्ने अवस्था अन्त्य गरी पर्यटनमैत्री वातावरण निर्माण गर्न आवश्यक कानुनी पहल गर्न सभामुखको ध्यानाकर्षण गराए ।
उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष ठाकुरकुमार श्रेष्ठले मालवाहक ट्रकलाई ओभरलोडको नाममा प्रहरीले १० हजार रुपैयाँ जरिवाना गर्ने गरेको विषय उठाउँदै यसले भैरहवाको व्यापार प्रभावित भएको बताए ।
ढुवानी तथा व्यापारमा देखिएका यस्ता समस्याले सीमावर्ती क्षेत्रका व्यवसायीलाई कठिनाइ भएको भन्दै उनले प्रहरी प्रशासनबाट हुने व्यवहार र जरिवाना प्रक्रियालाई व्यवस्थित गर्न आग्रह गरे ।
व्यवसायीका लिखित माग र समस्या सुनेपछि सभामुख अर्यालले निजी क्षेत्रको प्रवर्द्धन र संरक्षणका लागि कानुनअनुसार सरकारसँग आवश्यक सहजीकरण गर्ने बताए । उनले निजी क्षेत्रका समस्या समाधानका लागि आफू सधैँ सकारात्मक रहेको उल्लेख गर्दै भने, “कानुनअनुसार सहजीकरण गर्न म सधैँ निजी क्षेत्रको साथमा छु ।”
व्यवसायीले उठाएका समस्याको समाधानका लागि संसदीय समितिमा लिखित उजुरी दिन पनि सभामुख अर्यालले सुझाव दिए । उनले भने, “संसदीय समितिमा लिखित उजुरी दिएर पनि समस्या समाधान गर्न सकिन्छ ।”
सोट्टो नेपाल लुम्बिनीको समन्वयमा आयोजित सीमावर्ती क्षेत्रका व्यवसायीसँगको भेटघाट तथा छलफल कार्यक्रममा व्यवसायीले सीमा क्षेत्रमा व्यापार प्रवर्द्धनका लागि राज्यका निकायबाट आवश्यक सहजीकरण हुन नसकेको गुनासो गरेका थिए ।
कार्यक्रममा च्याम्बर अफ कमर्सका पूर्वअध्यक्ष नारायणप्रसाद भण्डारी, सिद्धार्थ होटल संघका वरिष्ठ उपाध्यक्ष किशोर जोशी, नेपाल भारत मैत्री संघका अध्यक्ष श्रीचन्द गुप्ता, च्याम्बर अफ कमर्स रुपन्देहीका अध्यक्ष सचिन रोक्कालगायतले सीमावर्ती क्षेत्रको व्यापार तथा पर्यटन प्रवर्द्धनमा गृह प्रशासनका कारण कठिनाइ सिर्जना भइरहेको बताएका थिए ।
उनीहरूले सीमा क्षेत्रमा आउने पर्यटक र व्यवसायीले सहज वातावरण पाउनुपर्ने तथा व्यापार र पर्यटन गतिविधिलाई प्रोत्साहन गर्ने गरी प्रशासनिक व्यवहारमा सुधार हुनुपर्नेमा जोड दिएका थिए ।

.gif)

