काठमाडौं - नेपाली कांग्रेसले देशभरका ७५३ वटै स्थानीय तहमा सञ्चालन गर्न लागेको ‘हामी तयार छौँ अभियान’ का लागि आज अभिमुखीकरण कार्यक्रम गर्दैछ।

पार्टी सभापति गगनकुमार थापाको उपस्थितिमा बिहान ११ बजे ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालयमा कार्यक्रम आयोजना हुन लागेको हो।

अभियानलाई प्रभावकारी रूपमा सञ्चालन गर्न तथा त्यसमा खटिने प्रतिनिधिलाई जिम्मेवारी, कार्यदिशा र आवश्यक प्रक्रियाबारे स्पष्ट पार्न अभिमुखीकरण गर्न लागिएको कांग्रेसले जनाएको छ।

केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार काठमाडौं उपत्यकामा उपलब्ध अभियानका सबै प्रतिनिधिलाई सानेपास्थित केन्द्रीय कार्यालयमा अनिवार्य उपस्थित हुन आग्रह गरिएको छ।

उपत्यकाबाहिर रहेका प्रतिनिधिका लागि भने भर्चुअल माध्यमबाट सहभागी हुने व्यवस्था मिलाइएको छ। उनीहरूलाई जुम बैठकको लिङ्क मोबाइल सन्देशमार्फत पठाइएको र निर्धारित समयमा सहभागी हुन अनुरोध गरिएको दुलालले जानकारी दिए।

कांग्रेसले देशका सबै ७५३ स्थानीय तहसम्म अभियान विस्तार गर्ने तयारी गरेको छ। स्थानीय तहमा पार्टीको गतिविधि प्रभावकारी बनाउने र अभियानको उद्देश्यअनुसार प्रतिनिधिहरूलाई परिचालन गर्ने लक्ष्यसहित अभिमुखीकरण गर्न लागिएको हो।