सुजिता मृत्यु प्रकरणः पूर्वी चितवनको राजमार्ग क्षेत्रमा कर्फ्यू
काठमाडौं,चितवन - राप्ती नगरपालिका–३ कि सुजिता भण्डारीको मृत्युको विषयलाई लिएर सडक प्रदर्शन बढ्न थालेपछि पूर्वी चितवनको राजमार्ग क्षेत्रमा कर्फ्यू लगाइएको छ ।
जिल्ला प्रशासन कार्यालय चितवनले पूर्व पश्चिम राजमार्गको राप्ती नगरपालिका–१ लोथरपुलदेखि राप्ती नगरपालिका–४ डढुवासम्मको राजमार्गको दाँयाबाँया ५०० मिटर क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको हो ।
भण्डारीको मृत्युको विषयलाई लिएर केही व्यक्तिहरुले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गर्ने, बीच सडकमा भीड जम्मा गरी हुलहुज्जत, ढुंगामुडा, सरकारी गाडी तोडफोड तथा निजी सम्पत्ति र संरचना तोडफोड गर्ने, आगजनी तथा हुलदंगा गर्न सक्ने देखिएकाले कर्फ्यु आदेश जारी गरिएको प्रशासनले जनाएको छ।
कर्फ्युको समयमा लामो दूरीका सवारी साधनबाहेक कुनैपनि व्यक्तिले आवातजावत गर्न, भेला हुन पाइने छैन।
भण्डारी असार ११ गतेदेखि हराइरहेकी थिईन् । असार ११ गते बिहान ६ बजे साथीको घर जाने भनेर हिँडेकी सुजिता सोही दिनदेखि वेपत्ता भएकी थिइन् । उनले सोही दिन १२ बजे दिदीलाई फोन गरेर अपहरणमा परेको बताएको परिवारका सदस्यले बताउँदै आएका छन् ।
जङ्गलमा च्याउ टिप्न गएका स्थानीयवासीहरुले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । वनको बीचमा एउटा झाङमा अड्किएको अवस्थामा उनको शव फेला परेको प्रहरीले जनाएको छ ।
फेसबुक पेज Like गर्नुहोस