धनगढी - धनगढीमा सत्याग्रहरत डा. गोविन्द केसीका माग सम्बोधन गर्न सरकार र डा. केसी पक्षबीच आज थप वार्ता हुने भएको छ। सरकारले डा. केसीका केही मागमा सकारात्मक संकेत देखाएपछि सहमतिको प्रयास अघि बढाइएको हो।

वार्ताका लागि प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार डा. जे.पी. अग्रवाल र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डा. विकास देवकोटा आइतबार धनगढी पुगेका छन्। शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेल भने शनिबार नै धनगढी पुगेका थिए। शिक्षामन्त्री सस्मित पोखरेलले शुक्रबार डा. केसीसँग टेलिफोन संवाद गरेपछि वार्ताको वातावरण बनाउन सचिव पौडेललाई धनगढी पठाइएको थियो।

सरकारी टोलीले आज पहिलो चरणमा डा. केसीका प्रतिनिधि डा. अमृत जैसी र पवन थापासँग छलफल गर्ने तयारी गरेको छ। प्रारम्भिक छलफल सकारात्मक भए सहमतिको मस्यौदामाथि डा. केसीसँग पनि थप वार्ता हुने जनाइएको छ।

डा. केसीले हाल तीन मुख्य माग अघि सारेका छन्। गेटास्थित शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका उपकुलपति र रजिष्ट्रारलाई पदमुक्त गर्नुपर्ने, ३०० शय्याको अस्पताल तत्काल सञ्चालनका लागि ओएनएम स्वीकृत गर्नुपर्ने तथा एमबीबीएस अध्ययन तत्काल सुरु गर्नुपर्ने उनको माग छ।

डा. केसीका सहयोगी डा. अमृत जैसीका अनुसार ३०० शय्याको अस्पताल सञ्चालन र एमबीबीएस अध्ययन सुरु गर्ने विषयमा सरकार सकारात्मक देखिए पनि उपकुलपति र रजिष्ट्रार हटाउने विषयमा कानुनी जटिलता रहेको संकेत सरकारी पक्षले दिएको छ। यही विषयमा आज थप वार्ता हुने उनले बताए।

‘हाम्रो बटमलाइन दुई पदाधिकारीलाई पदमुक्त गर्नु पनि हो। त्यसमा सरकार सहमत भए वार्ता सफल हुन्छ, नभए सहमति हुन गाह्रो हुन्छ,’ डा. जैसीले भने।

स्वास्थ्यमा समस्या देखिएपछि डा। केसीलाई शनिबार चिकित्सकको सल्लाहमा सेती प्रादेशिक अस्पतालमा राखिएको छ।