कोभिड–१९ नियन्त्रण र रोकथामलाई थप व्यवस्थित गर्न स्वास्थ्य टोली परिचालन गरिँदै
काठमाडौं - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ को नियन्त्रण र रोकथामलाई थप व्यवस्थित गर्नका लागि स्वास्थ्यकर्मीको नयाँ समूह बनाई परिचालन गर्ने तयारी गरेको छ।
मन्त्रालयले जनस्वास्थ्य अधिकृतको नेतृत्वमा ल्याब प्रयोगशालाको कर्मचारी र नर्ससमेत एक–एक जना रहने गरी तीन जनाको समूह बनाई प्रत्येक स्थानीय तहमा परिचालन गर्न लागेको हो।
कोरोना संक्रमितको संख्या बढ्दै गएपछि मन्त्रालयले ट्रेसिङ र टेस्टिङ कार्यमा सहयोग र सहजीकरण गर्न भन्दै त्यस्तो समूह गठन गरेको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिएका छन्।
उनकाअनुसार त्यस्तो समूह महानगरपालिकामा पाँच वटा, उपमहानगरपालिका तीन वटा, नगरपालिकामा दुई वटा र गाउँपालिकामा एउटाका दरले खटाइनेछ।
आज मन्त्रालयमा आयोजित नियमित प्रेस ब्रिफिङमा प्रवक्ता देवकोटाले यो समूह बनाउँदा स्थानीय तहमा उपलब्ध स्वास्थ्यकर्मीलाई प्राथमिकतामा राखेर परिचालन गर्ने गरी तयार गरिएको बताएका छन्।
यदि नपुग भए मागअनुसार जिल्ला स्वास्थ्य कार्यालय, प्रादेशिक स्वास्थ्य निर्देशनालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट पूर्ति गरिनेछ।
फेसबुक पेज Like गर्नुहोस