काठमाडौं - नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको पुरस्कार राशि सार्वजनिक भएको छ।
नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको पुरस्कार घोषणा गरेको हो।
क्यानका अनुसार एनपीएलको उपाधि जित्ने टोलीले १ करोड ५० लाख रुपैयाँ पुरस्कार पाउनेछ।
उपविजेता टोलीले ८० लाख रुपैयाँ प्राप्त गर्दा तेस्रो हुने टोलीले ४० लाख र चौथो स्थानमा रहने टोलीले ३० लाख रुपैयाँ पाउनेछन्।
प्रतियोगिताको तेस्रो संस्करण सोमबारदेखि मंसिर ५ गतेसम्म कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सञ्चालन हुनेछ।
प्रतियोगिताको उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्स आमनेसामने हुनेछन्।
उपाधि रक्षा गर्ने लक्ष्यसहित मैदान उत्रने लुम्बिनी र अघिल्लो संस्करणको फाइनलमा बेहोरेको हारको बदला लिने योजनामा रहेको सुदूरपश्चिमबीचको प्रतिस्पर्धासँगै एनपीएलको नयाँ संस्करण सुरु हुनेछ।

.gif)


