विराटनगर - शुक्रबार दिउँसो स्कुटर लिएर घरबाट निस्किएका विराटनगरका रेस्टुरेन्ट सञ्चालक मनोज खत्री शनिबार मोरङको जंगलमा मृत फेला परेका छन्।

मोरङका प्रहरीका अनुसार विराटनगर महानगरपालिका–३ निवासी ५१ वर्षीय खत्री केराबारी गाउँपालिका–९ स्थित धारापानी जंगलमा रुखमा झुण्डिएको अवस्थामा फेला परेका हुन् । 

खत्री विराटनगरस्थित चर्चित पिजफायर पिज्जा क्याफेका सञ्चालक हुन्। उनी शुक्रबार दिउँसो करिब १ बजे स्कुटर लिएर घरबाट निस्किएका थिए। त्यसपछि उनी परिवारको सम्पर्कमा आएका थिएनन्।

शनिबार अपराह्न करिब साढे ३ बजे स्थानीयले जंगलमा एक व्यक्ति झुण्डिएको देखेपछि प्रहरीलाई खबर गरेका थिए। घटनास्थल पुगेको प्रहरी टोलीले शव फेला पारेको थियो। परिवारका सदस्यले पहिचान गरेपछि साँझ करिब ७ बजे उनको सनाखत भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार खत्रीले प्रयोग गरेको स्कुटर अझै फेला परेको छैन। उनको मृत्युको कारण पनि खुल्न सकेको छैन।

शव पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ। पोस्टमार्टम रिपोर्ट र थप अनुसन्धानपछि मृत्युको कारण तथा घटनासँग सम्बन्धित अन्य तथ्य खुल्ने प्रहरीले जनाएको छ।