मौद्रिक नीति आज आउदै, लगानीकर्तालाई बोनस सेयर
काठमाडौं - कोरोना भाइरसका कारण यस वर्षको नाफाबाट लाभांश नपाइने हो कि भनेर चिन्तित लगानीकर्ताहरुलाई नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत केही राहत दिने भएको छ ।
मौद्रिक नीति आज दिउँसो ३ बजे सार्वजनिक गर्ने तयारी गरिएको छ । आर्थिक वर्ष २०७७र७८ को मौद्रिक नीतिले नगद लाभांशमा कडाइ गर्दै बोनस सेयरलाई प्रोत्साहन गर्ने भएको छ । केन्द्रीय बैंकले नगद लाभांशमा अधिकतम सीमा नै तोक्ने भएको छ ।
राष्ट्र बैंकको व्यवस्थापन समितिले बिहीबार सन्चालक समितिसमक्ष पेश गरेको नयाँ मौद्रिक नीतिको अन्तिम मस्यौदामा बैंक तथा वित्तीय संस्थाले गतवर्षको नाफाबाट लगानीकर्तालाई दिने कुल लाभांशमा २० प्रतिशत नगद लाभांश र ८० प्रतिशत बोनस सेयर बाँड्न पाउने प्रस्ताव गरेको छ ।
यदी कुनै बैंकले २० प्रतिशत लाभांश दिन सक्ने क्षमता भएमा उसले ४ प्रतिशत नगद लाभांश दिनेछ भने १६ प्रतिशत बोनस सेयर दिने छ । शुक्रबार बिहान सन्चालक समितको बैठकले मौद्रिक नीतिलाई अन्तिम रुप दिनेछ ।
‘सन्चालक समितिले केही हेरफेर गर्न सक्छ, तर मोटामोटी यही नै हो,’ राष्ट्र बैंक स्रोतले भन्यो । लाभांश बाँड्न रोक लगाउँदा बैंकिङ क्षेत्रको ७५ प्रतिशत हिस्सा रहेको सेयर बजारमा पहिरो जानसक्ने सम्भावनालाई सम्बोधन गर्न यस्तो व्यवस्था गर्न लागिएको स्रोतले जानकारी दियो ।
फेसबुक पेज Like गर्नुहोस