काठमाडौं - केपी ओली कप मच्छिन्द्रका लागि भाग्यमानी साबित भइरहेको छ । मच्छिन्द्रले आजको फाइनल खेलमा त्रिभुवन आर्मीलाई हराएर तेस्रोपटक उपाधि चुमेको हो ।

केपी ओली कप फुटबलको उपाधि मच्छिन्द्र एफसीले जितेको हो । यो सँगै मच्छिद्रले उपाधिमा ह्‍याट्रिक गरेको हो । सोमबार भएको तेस्रो संस्करणको फाइनलमा त्रिभुवन आर्मी क्लबलाई २–० ले हराउँदै मच्छिन्द्रले दबदबा कायमै राखेको हो ।

मच्छिन्द्रको जितमा स्टेफेन जमाह जालेले १ गोल गर्दा एक गोल आत्मघाती भएको थियो । २९औं मिनेटमा मच्छिन्द्रको क्रस क्लियर गर्ने क्रममा बिमल पाण्डेबाट आत्मघाती गोल हुँदा मच्छिन्द्रले अग्रता लिएको थियो ।

दोस्रो हाफमा युसुफ मलिकको क्रसमा जमहा जालेले उत्कृष्ट फर्स्ट टच फिनिस गर्दै मच्छिन्द्रको अग्रता दोब्बर पारे । त्यसपछि थप गोल भएनन् र मच्छिन्द्रले फेरि पनि उपाधि रक्षा गर्न सफल भयो ।

नेपाली घरेलु प्रतियोगितामा एउटै टोलीले लगातार तीनपटक एकै प्रतियोगिताको उपाधि जितेको हो । मच्छिन्द्रले उत्कृष्ट लय कायमै राख्दै उपाधि रक्षा गर्न सफल भयो ।

यसअघिका दुवै संस्करणमा टाइब्रेकरसम्म पुग्नुपरेको मच्छिन्द्रले यसपटक भने निर्धारित समयमै पर्याप्त गोल गर्दै उपाधि फेरि आफ्नो नाममा गर्‍यो ।

पहिलो संस्करणको फाइनलमा सातदोबाटो युथ क्लब तथा दोस्रो संस्करणको फाइनलमा एनआरटी क्लबलाई टाइब्रेकरमा हराएर मच्छिन्द्रले उपाधि जितेको थियो ।

यो सिजन मच्छिन्द्रको यो दोस्रो उपाधि हो । यसअघि इटहरी गोल्डकपको उपाधि जितेको थियो ।