भारी वर्षाको कारण देशभरीको जनजीवन प्रभावित, सतर्क भएर बस्न आग्रह
काठमाडौँ - लगातारको वर्षाको कारण देशभरीको जनजीवन प्रभावित भएको छ । देशभरीका चुरे पहाडका क्षेत्रबाट बहने प्रायः नदीहरुमा जलसतह सतर्कता तह आसपासमा आइसकेका छन् । अझै थप वर्षा हुने देखिएको कारणले गर्दा बाढी पूर्वानुमान महाशाखाले सतर्क भएर बस्न आग्रह गरेको छ ।
वर्षाकै कारण बागमती नदीमा ठूलो बाढी आएकाले रौतहट र सर्लाहीका बासिन्दालाई सुरक्षित ठाउँमा जान महाशाखाले अनुरोध गरेको छ । शुक्रबार बिहान ३ बजेतिर नै बागमतीमा पानीको सतहले सतर्कता तह पार गरेकाले रौतहट र सर्लाहीका बासिन्दालाई सुरक्षित ठाउँमा जान महाशाखाले अनुरोध गरेको हो । ती क्षेत्रका बासिन्दाहरुलाई मोबाइलमा सन्देश समेत पठाइसकेको छ ।
कमला र कन्काईमा बहाब सतर्कता नजिक छ । भने कोसी नदीमा पनि बहाब सतर्कता तह नजिक रहेको छ । प्रदेश १, २ र ३ का सबै चुरे खोलाहरुमा बहाब सतर्कता माथि रहेकोले उच्च खतरा रहेको महाशाखाले जनाएको छ ।
यस्तै, शुक्रबार रातु, खाँडु, लालबकैया, गागन, त्रियुगालगायत सबै चुरेबाट बहने खोलाका बासिन्दाहरुले पनि सतर्कता अपनाउनुपर्ने महाशाखाले जनाएको छ ।
फेसबुक पेज Like गर्नुहोस