वीरगन्ज - र्‍यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) पोजेटिभ देखिएकी एक युवतीको वीरगन्जमा मृत्यु भएको छ । तीन पटक आरडीटी पोजेटिभ देखिएको वीरगञ्ज-१० अशोकबाटिका बस्ने २३ वर्षीया युवतीको मृत्यु भएको हो ।

उनको शव नारायणी हस्पतालमा राखिएको छ । ती युवती ब्लड क्यान्सरकी बिरामी हुन् । आरडीटी रिपोर्ट पोजेटिभ आएको ती युवतीको थ्रोट स्वाब थप परिक्षणका लागि हेटौंडास्थित प्रादेशिक प्रयोगशालामा पठाइएको छ ।

पारिवारिक स्रोतका अनुसार उनलाई स्वास्थ्यमा समस्या देखिएपछि ०७६ चैत ५ गते चितवनको भरतपुर क्यान्सर अस्पतालमा लगिएको थियो । अस्पतालमा जाँचपछि ब्लड क्यान्सर भएको प्रमाणित गर्दै प्रारम्भिक उपचारपछि चैत ९ गते डिस्चार्ज गरिएको थियो ।

दुई दिनदेखि घरमै रहेको बेला स्वास्थ्यमा समस्या बढेपछि उपचारका लागि एडभान्स अस्पताल लगिएको थियो । प्रारम्भिक उपचारपछि एडभान्सले आईसीयुमा राख्नुपर्ने भन्दै नेशनल मेडिकल रिफर गरेको थियो । तर नेशनल मेडिकल कलेजले आईसीयु खाली नरहेको भन्दै विरामीको भर्ना नै नलिई फिर्ता पठाएको थियो ।

त्यसपछि शनिबार राति १० बजेतिर उनलाई तराई हस्पिटल एण्ड रिसर्च सेन्टरमा भर्ना गरियो । अस्पतालले अन्य जाँचसँगै आरडीटी परीक्षण गर्दा शंकास्पद रिपोर्ट आएपछि नारायणी अस्पतालको टोलीले फेरि पनि र्‍यापिड टेस्ट गरेको थियो । त्यसक्रममा एन्टिबडी पोजेटिभ देखिएपछि नारायणी अस्पतालमा आईसोलेसनमा राख्न लगिएको थियो । त्यसैक्रममा उनको मृत्यु भएको परिवारका सदस्य बताउँछन् ।