नवलपरासी - अविरल वर्षाका कारण पश्चिम नवलपरासी सुस्ता गाउँपालिका-५ सुस्ताका २९ जना नागरिकको सकुशल उद्धार गरिएको छ।
नारायणी नदीमा जलसतह बढ्न गई बस्ती डुबानमा परेपछि सशस्त्र प्रहरीले २९ जना नागरिकको सकुशल उद्धार गरेको हो।
अविरल वर्षाका कारण नारायणी नदीको बहाव बढेपछि सुस्ताको थारुटोलमा पानी पसेको थियो । बाढीको सूचना पाएलगत्तै शुक्रबार बिहान पौने ९ बजे सशस्त्र प्रहरी बल, नेपाल बीओपी सुस्ताबाट उद्धार टोली परिचालन गरिएको थियो ।
सशस्त्र प्रहरी निरीक्षक मनोज कार्कीको कमान्डमा खटिएको २१ जनाको टोलीले डुबानमा परेका २९ स्थानीयलाई सुरक्षित स्थानमा सारेको हो ।
उद्धार टोलीले एक गाई र १३ वटा बाख्रासमेत सुरक्षित स्थानमा सारेको सशस्त्र प्रहरीले जनाएको छ ।
उद्धार गरिएका स्थानीय तथा चौपायालाई सुस्ता गाउँपालिका–५ मा रहेको होल्डिङ सेन्टरमा स्थानान्तरण गरिएको छ ।
यसअघि नारायणीको बाढी थारुटोलमा पस्दा १६५ घर प्रभावित भएका थिए । थारुटोलका ७८ परिवारलाई होल्डिङ सेन्टरमा सारिएको थियो । त्यस्तै सैनिकटोल र बड्काटोलमा समेत बाढी पसेपछि थप ८५ परिवारलाई सुरक्षित स्थानमा सारिएको थियो ।
निर्माणाधीन तटबन्धको १३२ मिटर भाग अझै निर्माण हुन बाँकी रहेकाले सो क्षेत्रका अन्य बस्तीसमेत जोखिममा रहेको स्थानीयले बताएका छन् ।
त्यसैले बाढी प्रभावित क्षेत्रमा सशस्त्र प्रहरीको थप उद्धार तथा खोजी कार्य जारी रहेको छ ।




