काठमाडौं - मौसम बदली हुँदा सोमबार बिहानैदेखि काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानमा वर्षा भएको छ । 

पश्चिमी वायुको सामान्य प्रभाव, स्थानीय वायु तथा पूर्वी भूभाग नजिक बनेको न्यून चापीय क्षेत्रको प्रभावका कारण वर्षा भएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले बताएको छ । 

अहिले देशभरी नै मौसम बदली भएको छ । महाशाखाका अनुसार देशभर सामान्यदेखि पूर्ण बदली रही देशका धेरैजसो स्थानमा मेघगर्जन र चट्याङ सहित वर्षा भइरहेको छ । 

यस वर्ष वैशाख लागेदेखि नै मौसममा बदली आइरहेको र प्रिमन्सुन सुरु भएकाले वर्षा भइरहेको महाशाखाले जनाएको छ । 

महाशाखाले अवको तीन दिनसम्म समान्यदेखि पूर्ण बदलि हुने र मेघ गर्जनसहित वर्षा हुने बताएको छ । सोमबार दिनभर काठमाडौं उपत्यकासहित देशका अधिकांश भू–भागमा समान्यदेखि पूर्ण बदली हुनेछ भने केही स्थानमा मेघगर्जन सहित चट्याङ पर्ने र असिना र हावाहुरी सहित वर्षा हुने छ । 

यस्तै मंगलबार पनि पश्चिमी भू–भागाका धेरै स्थानहरु र मध्य तथा पूर्वका केही स्थानहरुमा वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ । यस्तै २४ गते बुधबार पनि देशभर आंशिकदेखि सामान्य बदली रहने र पहाडी क्षेत्र, पूर्वी र मध्य तराईका केही स्थानमा मेघगर्जनसहित वर्षा हुने सम्भावना रहेको अनुमान पनि महाशाखाले गरेको छ ।